close

प्रविधिमैत्री बन्दै नेपाल टेलिकम

एउटै केबलमा टिभी, फोन र इन्टरनेट

प्रविधिमैत्री बन्दै नेपाल टेलिकम

एउटै केबलमा टिभी, फोन र इन्टरनेट

Trulli
ADVERTISEMENT

बागलुङ– बागलुङमा टेलिभिजन, इन्टरनेट र टेलिफोनका लागि एउटै घरमा तीनवटा तार जडान गर्नुपर्ने बाध्यता अन्त्य भएको छ । नेपाल टेलिकमले एउटै फाइबर तारबाट तीन सेवा उपभोग गर्न सकिने सुविधा ल्याएको हो ।


दुई वर्ष पहिले उच्च गतिको इन्टरनेट र भ्वाइसका लागि तामाको तार हटाएर फाइबर तार विस्तार गरेको टेलिकमले सोही तारबाट टेलिभिजनसमेत हेर्न सकिने सुविधा ल्याएको हो । तत्कालका लागि सदरमुकाम बागलुङ बजार र बलेवा क्षेत्रका उपभोक्ताले यो सुविधा उपभोग गर्न पाउने छन् ।

 

 इन्टरनेट र टेलिफोनका लागि घरमा जडान भएको फाईबर तारमा टेलिकमले उपलव्ध गराउने नयाँ राउटर जडान गरेपछि टेलिभिजन हेर्न सकिने टेलिकम बागलुङका प्रमुख केशव शर्माले बताए । दसैँलगत्तै बागलुङमा फाइबरबाट टेलिभिजन जडानको काम सुरु भएको छ ।

 

‘१ सय ९० भन्दा धेरै देश–विदेशका च्यानल उच्च गुणस्तरमा हेर्न सकिन्छ,’ शर्माले भने, ‘तत्कालका लागि प्याकेज पनि छ, जुन प्याकेज अहिलेसम्म उपभोक्ताले तिर्दै आएको मूल्यभन्दा आधा सस्तो पर्न जान्छ ।’ टेलिकमले फोन, इन्टरनेट र टेलिभिजनको शुल्क एकै पटक तिर्ने व्यवस्था मिलाएको छ ।

 

टेलिभिजनसहितको सेवा सुरु भएको पहिलो तीन महिनासम्म तीन वटै सुविधा उपभोग गर्ने ग्राहकले १५ हजार ९ सय रुपैयाँमा एक वर्षका लागि सबै सुविधा पाउने शर्माले बताए । ‘टेलिभिजन एक वर्ष, २५ एमबिपिएस क्षमताको इन्टरनेट र ३ हजार मिनेट भ्वाइस कल एकै पटकको भुक्तानीमा पाइन्छ,’ उनले भने, ‘यो प्याकेज खरिद गर्ने ग्राहकको मोबाइलमा एक वर्षसम्म हरेक दिन ३ सय एमबी डाटा निःशुल्क प्राप्त हुन्छ ।’ 

 

बागलुङमा हाल फाइबरमार्फत टेलिकमको इन्टरनेट प्रयोग गरिरहेका ३ हजार ६ सय ग्राहकले यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । वार्षिक प्याकेज खरिदमा टेलिकमले टिभीका लागि आवश्यक राउटर भने निःशुल्क उपलब्ध गराउनेछ । 

 

‘सञ्चारका लागि आवश्यक सबै साधन चलाउन एउटै तारले काम गर्छ । खर्चको बचत र समय सदुपयोग दुवै हुन्छ,’ शर्माले भने, ‘अन्य सेवाप्रदायकको भन्दा सस्तो र भरपर्दो सुविधा टेलिकमले दिन्छ ।’ उनले सहरको सुन्दरता कायम राख्नसमेत एउटै तारको प्रायेगले सघाउने जानकारी दिए । 

 

स्थानीय टेलिभिजनसमेत हेर्न मिल्ने गरी व्यवस्थापन गरिने शर्माले बताए । एचडी क्वालिटी र फोरके क्वालिटीका टेलिभिजनसमेत फाइबरमार्फत सहजै हेर्न सकिने टेलिकमले जनाएको छ । जिल्लाका अन्य सहरी तथा ग्रामीण क्षेत्रमा फाइबर विस्तारको काम चलिरहेकाले दूरदराजसम्मै यो सेवा विस्तार हुने उनले बताए ।