close

विराटनगर महानगरले दियो बाढीमा ज्यान गुमाएकालाई ५० हजार 

विराटनगर महानगरले दियो बाढीमा ज्यान गुमाएकालाई ५० हजार 

Trulli
ADVERTISEMENT

विराटनगर– मोरङको विराटनगर महानगरले बाढीका कारण मृत्यु भएका परिवारलाई ५० हजार रुपैयाँ राहत उपलब्ध गराएको छ । बाढीले बगाएर मृत्यु भएका विराटनगर वडा नम्बर १ का २१ वर्षीय सञ्जित कामतका आफन्तलाई महानगरले किरिया खर्च उपलब्ध गराएको हो ।


विराटनगर महानगरअन्तर्गत विपद् व्यवस्थापन समितिको बैठकले २ र ३ कात्तिकको बेमौसमी वर्षाका कारण आएको बाढीबाट मृत्यु भएकाको परिवारलाई जनही ५० हजार रुपैयाँ दिने निर्णय गरेको थियो ।

 

बाढीमा परेर ज्यान गुमाएका विराटनगर वडा नम्बर १ का कामत, वडा नम्बर ५ का ४१ वर्षीय सञ्जय राई र वडा नम्बर १२ का इसान भुजेलका परिवारलाई किरिया खर्चका लागि जनही ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको थियो ।

 

३ कात्तिकमा डुबानमा परेको घरभित्रबाट सामान निकाल्ने क्रममा सिंघिया खोलाको बाढीले कामतलाई बगाएको थियो । ३ दिनपछि उनको शव परोपकारघाट छेउ फेला परेको थियो । 


विराटनगर महानगर प्रमुख भीम पराजुलीले वडा नम्बर १ स्थित धर्मशाला चौकमा बाढीले बगाएर मृत्यु भएका कामतको घरैमा पुगेर उनका बुबा बैजनाथ कामतलाई किरिया खर्चका लागि ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरे । महानगरले मजदुरी गरिखाने कामतका परिवारलाई काजकिरियाका लागि आर्थिक सहायता दिएको उनको भनाइ छ ।