close

एभोकाडोको राजधानी धनकुटामा दुईदिने महोत्सव हुँदै

एभोकाडोको राजधानी धनकुटामा दुईदिने महोत्सव हुँदै

Trulli
ADVERTISEMENT

धनकुटा–एभोकाडो उत्पादनमा अग्रणी धनकुटामा ४ र ५ मंसिरमा दुईदिने दोस्रो एभोकाडो महोत्सव हुने भएको छ । आयोजक धनकुटा एभोकाडो कृषक समूहले पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिएको हो ।

 

धनकुटा नगरपालिकाको सह–आयोजनामा सञ्चालन हुने महोत्सवमा ५० वटा स्टलले सहभागिता जनाउनेछन् । धनकुटा बजारको एभोकाडो स्तम्भ भएको स्थानमा हुने उक्त महोत्सवको पहिलो दिन किसान तथा व्यापारीका एभोकाडो प्रदर्शन तथा बिक्रीका लागि राखिनेछन् ।

 

दोस्रो दिन एभोकाडो स्टलका साथै सरोकारवालाबीच एभोकाडोको प्रवद्र्धनका विषयमा अन्तरक्रिया कार्यक्रम गरिने आयोजक संस्था तथा समूहका अध्यक्ष खेमराज थापाले बताए । कार्यक्रममा धनकुटाका नगर प्रमुख चिन्तन तामाङले यो वर्ष एभोकाडो प्रवद्र्धन कार्यक्रमका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए ।

 

एभोकाडो प्रवद्र्धन कार्यक्रमको जिम्मा किसानले लिनुपर्ने उनले बताए । नगरपालिकाले खेतीसम्बन्धी आउने समस्याका लागि विज्ञको छुट्टै परामर्श केन्द्र स्थापना गर्न लागेको उनको भनाइ छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई र धनकुटाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले महोत्सव सफलताको शुभकामना दिए ।

 

२०७५ मा कृषि अभियन्ता जीवनकुरमार राईको विशेष पहलमा नगरपालिकाले नगरलाई एभोकाडोको राजधानी घोषणा गरेको थियो । प्रतिकेजी ५० रुपैयाँमा बिक्री हुँदै आएको एभोकाडो राजधानी घोषणापछि भने ४५० सम्म पुगेको थियो । हाल धनकुटामा एभोकाडोको मूल्य प्रतिकेजी १५० देखि २५० रुपैयाँसम्ममा खरिब बिक्री हुने गरेको छ ।