close

उदयपुरमा सुरु भो राष्ट्रिय जनगणना 

उदयपुरमा सुरु भो राष्ट्रिय जनगणना 

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरमा १२औँ राष्ट्रिय जनगणना २०७८ त्रियुगा नगरप्रमुख बलदेव चौधरीको घरबाट विवरण संकलन गरेर सुरु भएको छ । त्रियुगा नगरपालिका वडा नम्बर ११ मा नगरप्रमुख चौधरीको घरबाट विवरण टिपोट गरी जनगणना सुरु गरिएको हो । चौधरीको पारिवारिक विवरण संकलन गरी जिल्लामा गणना सुरु गरिएको जिल्ला जनगणना कार्यालय प्रमुख शिवनारायण महतोले जनकारी दिए । गणनाका लागि उदयपुरमा १०७ सुपरिवेक्षक र ४५४ जना गणक खटिएको महतोले बताए ।

 

जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । गणकले घरपरिवारमा पुगेर प्रश्न सोध्नेछन् । हरेक व्यक्ति र परिवारलाई जनगणनामा सहभागी भएर आफ्नो सही विवरण टिपाउन महतोले आग्रह गरे । पहिलो चरणको गणनापछि बीचमा दसैँ, तिहारको समय घर लिपपोत गर्दा घर–घरमा कोडिङ गरिएको नम्बर मेटिएकाले गणनामा चुनौती भएको फिल्डमा खटिएका गणकले बताए ।


फिल्डमा काम गर्दै जादाँ पहिलो दिन भएकाले एक परिवारको मुख्य प्रश्नावली भर्न १ घन्टासम्म लागेको उनीहरूको अनुभव छ । २५ कात्तिकबाट सुरु भएको गणना ९ मंसिरसम्म चल्नेछ । १५ दिने अवधिमा ४० हजार गणकले प्रत्येक घरघरमा गई मुख्य प्रश्नावली भर्ने काम गर्नेछन् । कोभिडका कारण रोकिएको ‘राष्ट्रिय जनगणना २०७८ पुनः सुरु भएको हो । कोभिडका कारण गत २१ वैशाखदेखि निषेधाज्ञा सुरु भएसँगै रोकिन पुगेको जनगणना पुनः मन्त्रिपरिषद्को २१ भदौको निर्णयअनुसार उदयपुरका पनि सुरु भएको हो । 


जिल्ला तथ्यांक शाखा अधिकृत तथा जनगणना अधिकारी महतोले आउँदो मंसिरभित्र सम्पन्न गरिसक्न जिल्लाभरि कर्मचारी खटाइएको जानकारी दिए । ‘मेरो गणना, मेरो सहभागिता’ नारासहित सुरु जनगणनाका लागि १०७ सुरपरिवेक्षकलाई फिल्डमा खटाएर पहिलो चरणको सर्भे सकिएको उनले बताए ।

 

उदयपुरको त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका नगरपालिकाका लागि गाईघाट, मुर्कुची र बेल्टारमा स्थानीय जनगणना कार्यालय स्थापना गरिएको छ । फिल्डमा खटाइएका सुपरिवेक्षकले पहिलो चरणमा ३० भदौदेखि १८ असोजसम्म २० दिन लगाएर २० वटा प्रश्नावलीमा घर तथा घरपरिवार सूचीकरण फाराम भरिसकेका छन् ।


राष्ट्रिय जनगणना २०७८ लाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला जनगणना समिति र जिल्ला समन्वय समिति प्रमुखको अध्यक्षतामा जिल्ला जनगणना सहजीकरण समिति गठन गरिएको छ ।  त्यसैगरी स्थानीय तहमा नगर प्रमुख तथा अध्यक्षको नेतृत्वमा स्थानीय जनगणना समन्वय समिति र वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय जनगणना सहजीकरण समिति बनाइएको छ । महतोका अनुसार त्रियुगामा ३०, बेलकामा १४, चौदण्डीगढीमा १७ र कटारीमा १९ जना सुपरिवेक्षक परिचालन गरिएको छ ।

 

ताप्ली गाउँपालिकामा ५, रौतामाईमा ७, उदयपुरगढीमा १० र लिम्चुङबुङमा ४ जना खटाइएको छ । उदयपुरमा बिहीबार एकै समय जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर दर्नाल, त्रियुगा नगरपालिका प्रमुख चौधरी, बेलका नगरपालिका प्रमुख दुर्गाकुमार थापा, चौदण्डीगढी नगरपालिका प्रमुख खगेन्द्र राई, कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, ताप्ली गाउँपालिका अध्यक्ष उद्धवसिंह थापा, उदयपुरगढीका अध्यक्ष मानबहादुर केप्छाकी मगर, रौतामाईकाका अध्यक्ष गजेन्द्रबहादुर खड्का र लिम्चुङबुङका अध्यक्ष मेजरकुमार राईको घरबाट विवरण संकलन सुरु गरिएको जिल्ला जनगणना कार्यालय उदयपुरका प्रमुख महतोले जानकारी दिए । त्यसैगरी उदयपुरका ७५ वटै वडाध्यक्षको घरबाट एकै समय विवरण लिइएको छ ।