close

खेल महोत्सवमा जुट्यो शिवराज

खेल महोत्सवमा जुट्यो शिवराज

Trulli
ADVERTISEMENT

कपिलवस्तु/चन्द्रौटा– कपिलवस्तुको शिवराज नगरपालिकामा खेल महोत्सव हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरी १ देखि ९ पुससम्म महोत्सव गरिन लागेको जानकारी नगरपालिकाले दिएको हो ।


नगर प्रमुख नेत्रराज अधिकारीले खेल महोत्सवबारे जानकारी दिँदै राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतसम्म पहिचान गराउन खेलले महत्त्वपूर्ण भूमिका खेल्ने हुँदा नगरका खेलाडीलाई प्रोत्साहन गर्न महोत्सव आयोजना गर्न लागिएको बताए । 

 

विगत वर्षमा भन्दा यस वर्ष फरक तवरबाट खेल सञ्चालन गरिने उनको भनाइ छ । खेल महोत्सवमा विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, मेयर कप र उपमेयर कप शीर्षकमा विभिन्न खेल स्पर्धा हुने शिक्षा तथा खेलकुद शाखा प्रमुख लोकराज पन्थीले जानकारी दिए ।

 

राष्ट्रपति रनिङ शिल्डतर्फ ५ विधाअन्तर्गत भलिबल, एथलेटिक्स, कराते, उसु, कपर्दी प्रतियोगिता हुनेछन् । त्यस्तै, मेयर कपतर्फ फुटबल, क्रिकेट र भलिबल, उपमेयर कपतर्फ फुटबल, भलिबल र कराते प्रतियोगिता हुनेछन् ।

 

खेलमा १५ सय बढी विद्यार्थी, खेलाडी सहभागी हुने शिवराज नगर खेलकुद विकास समिति संयोजक नेत्र बेल्वासेले जानकारी दिए । विगत वर्षमा क्लब स्तरीय प्रतियोगिता हुने गरेको र यो वर्ष भने वडास्तरीय प्रतियोगिता गराई त्यसबाट उत्कृष्ट समूह तयार गर्ने नगरको योजना रहेको बेल्वासेले बताए । ९ दिनसम्म चल्ने उक्त महोत्सवलाई सफल र व्यवस्थित बनाउन सबै नगरबासीले सहयोग गर्नुपर्ने बेल्वासेको भनाइ छ ।