close

कनकासुन्दरी र चन्दननाथमा अपांगता भएका कोरोना प्रभावितलाई राहत 

कनकासुन्दरी र चन्दननाथमा अपांगता भएका कोरोना प्रभावितलाई राहत 

Trulli
ADVERTISEMENT

जुम्ला–जुम्लामा अपांगता भएका कोरोना प्रभावित २४९ र विपन्न गरी ५५५ जनालाई राहत वितरण गरिएको छ । कोरोना प्रभावित विपन्न नागरिक र अपांगता भएका व्यक्तिको दैनिकीमा सहज बनाउन राहत वितरण गरिएको हो ।


जुम्लाको कनकासुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिकाका ५५५ जनालाई राहत वितरण गरिएको अपांग पुनस्र्थापन तथा विकास केन्द्र जुम्लाले जनाएको छ ।

 

कोरोनाबाट प्रभावित परिवारको सहायता कार्यक्रमअन्तर्गत करिब ६ महिना पुग्ने खाद्यान्न वितरण गरिएको अध्यक्ष नन्दराज धितालले बताए ।
उनले भने, ‘सिबिएम नेपालको सहयोगमा आईएनएफ नेपाल जुम्लाले चन्दननाथ नगरपालिका र कनकासुन्दरी गाउँपालिकामा राहत वितरण गरेको हो । स्थानीय सरकारको समन्वयमा दुई चरणमा राहत वितरण गरेका हौँ ।’


चामल ६० केजी, दाल १५ केजी, १ किलो नुन, २ वटा साबुन, जिरा, खुर्सानी, धनियासहितका खाद्य सामग्री वितरण गरिएको परियोजना संयोजक ठालुराम चौधरीले बताए ।

 

उनका अनुसार विपन्न परिवारमा अपांगता भएका व्यक्ति बढी भएकाले राहत वितरणमा तिनलाई प्राथमिकता दिइएको हो । टुहुरा बालक, एकल महिला, ज्येष्ठ नागरिकलाई समेत राहत वितरण गरिएको छ । कोरोनाका कारण आम्दानी गुमाएका तथा विपन्न नागरिकलाई तेस्रो चरणको सहयोग कार्यक्रमअन्तर्गत दोस्रो चरणको राहत वितरण कार्यक्रमको तयारी भइरहेको छ । 


कनकासुन्दरी र चन्दननाथमा विपन्नलाई राहत कार्डसमेत वितरण गरिएको छ । विपन्नले सोही कार्डको आधारमा तेस्रो चरणको राहत पाउनेछन् । कोरोनाले लामो आम्दानीविहीन बनाएपछि करिब ६ महिना खाद्यान्न पुग्ने वितरण गरिएको हो ।

 

कोरोनाको समय सिबिएम नेपालको सहयोगमा आईएनएफ नेपाललाई राहत वितरण, राष्ट्रिय अपांग महासंघ नेपालको सचेतना तथा सिएमसी नेपालले मनोसामाजिक समस्या भएका व्यक्तिलाई तनाव व्यवस्थापनसम्बन्धी तालिम दिदै आएको महासंघका कर्णाली प्रदेश अध्यक्ष विष्णु शर्माले बताए ।


चन्दननाथका नगर उपप्रमुख अप्सरादेवी न्यौपानेले संकटको समय आर्थिक अवस्था कमजोर भएका घरपरिवारका व्यक्तिलाई राहत उपलब्ध गराउनु सकारात्मक रहेको बताइन् ।  राहत प्याकेज कार्यक्रमका लागि चन्दननाथ र कनकासुन्दरीमा १० जना बढी व्यक्तिलाई ६ महिनासम्म स्वंसेवक परिचालन गरिएको छ ।