close

सुदूरपश्चिमका २० स्थानीय तह सङ्कटग्रस्त क्षेत्र

सुदूरपश्चिमका २० स्थानीय तह सङ्कटग्रस्त क्षेत्र

Trulli
ADVERTISEMENT

बैतडी–बैतडीसहित सुदूरपश्चिम प्रदेशका २० पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ  । सरकारले गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको अविरल वर्षाका कारण भएको क्षतिका आधारमा  सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो । गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को ले दिएको अधिकारलाई प्रयोग गर्दै हालै देशभरिका ३३ स्थानीय तहलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।  तीमध्ये सुदूरपश्चिमका डोटी र डडेल्धुरामा पाँच÷पाँच ,बझाङका चार तथा बैतडी, बाजुरा र दार्चुलाका दुई÷दुई स्थानीय तह छन् 

 

डोटीका दीपायल सिलगढी नगरपालिका, केआईसिंह, आदर्श, जोरायल र सायल गाउँपालिका र डडेल्धुराका नवदुर्गा, अमरगढी, आलिताल , गन्यापधुरा र परशुराम गाउँपालिका सङ्कटग्रस्त क्षेत्र घोषणा भएका छन् ।  यसका साथै  बझाङका थलारा, वित्थडचिर , खप्तडछान्ना र जयपृथ्वी गाउँपालिका, बैतडीका सिगास  र शिवनाथ गाउँपालिका, दार्चुला दुहुँ र अपिहिमाल गाउँपालिका र बाजुराका हिमाली र जगन्नाथ गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका छन् । 


गृहमन्त्रालयले २०७८ माघ मसान्तसम्म लागू हुने गरी विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । गत असोज ३१ देखि कात्तिक ३ गतेसम्मको अविरल वर्षाका कारण सुदूरपश्चिममा  धनजनको क्षति भएको थियो ।  यहाँ उक्त बेला विपद्मा परी यस प्रदेशमा ३७ जनाको मृत्यु भएको थियो भने अर्बौँको अन्य क्षति भएको थियो ।

 

 सङ्कटग्रस्त क्षेत्र घोषणा भएका स्थानीय तहमा पुनःनिर्माण र पुनःस्थापनाको काम, घर, सडक र अन्य भौतिक संरचना निर्माणको काम हुने बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए ।