close

भीमदत्तमा बन्यो सहरी विकास आयोग

भीमदत्तमा बन्यो सहरी विकास आयोग

Trulli
ADVERTISEMENT

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिकाले विकास निर्माणलाई थप व्यवस्थित बनाउन सहरी विकास आयोग गठन गरेको छ । आयोगलाई योजना बैंकको अवधारणाअनुसार अघि बढाइएको छ । नेपालका थोरै मात्र स्थानीय तहले सुरु गरेको यो अवधारणा अघि बढाउने भीमदत्त सुदूरपश्चिममै पहिलो पालिका हो ।


आयोगले नगरका योजना तर्जुमा र योजनाको प्राथमिकीकरण गर्दै त्यसको कार्यान्वयनका लागि सरोकारवाला निकायसँग समन्वय गर्नेछ । भीमदत्त नगरप्रमुख सुरेन्द्र विष्टले विकासलाई थप व्यवस्थित गर्दै तीव्रता दिन योजना आयोग गठन गरिएको बताए । उनका अनुसार आयोगले योजना बैंकको रूपमा काम गर्नेछ ।

 

‘समृद्ध नगरको निर्माणका लागि सबै क्षेत्रको विकासलाई समेटेर लैजान आवश्यक छ,’ नगरप्रमुख विष्टले भने, ‘आयोगले जनताको आवश्यकताका आधारमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तर्जुमा गर्छ । त्यसलाई प्राथमिकीकरण गरेर कार्यान्वयनको चरणमा लगिन्छ ।’

 

योजना तर्जुमा गरी त्यसको बजेट सुनिश्चितताका लागि केन्द्र, प्रदेश र अन्य दातृ निकायसँग नगरपालिकाले पहल गर्नेछ । आयोगका अध्यक्षसमेत रहेका नगरप्रमुख विष्टले भीमदत्तलाई आधुनिक सहर र समृद्ध नगरको रूपमा विकास गर्न आयोगको महत्त्वपूर्ण भूमिका रहने बताए । 


नगरपालिकाले नगर योजना परिषद् गठन गरेको छ । परिषद्म केन्द्र, प्रदेश र अन्य सरोकारवाला कार्यालयका प्रमुख एवं प्रतिनिधिलाई सदस्यको रूपमा राखिएको छ । आयोगले योजना निर्माण तथा कार्यान्वनका लागि तीनै तहका निकायबीच समन्वय गर्ने नगर प्रमुख विष्टले जानकारी दिए ।


योजना आयोगका उपाध्यक्ष अर्जुन कार्कीले योजनाबद्ध रूपमा विकास निर्माण अघि बढाउन आयोगले काम गरिरहेको बताए । ‘आयोगले टोल विकास संस्थादेखि विज्ञ समूहसम्म छलफल गरेर योजना बनाउनेछ,’ उनले भने । यस्तै, लगानीमैत्री वातावरण सिर्जना गरी दातृ निकायलाई योजना कार्यान्वयनका लागि प्रस्ताव राख्नेछ ।


आयोगका संयोजक नवीन भण्डारीले आयोगले पालिकाका विभिन्न शाखासँग छलफल गरी योजना बैंकको रूपमा काम गरिरहेको बताए । उनका अनुसार आयोगले नगर प्रोफाइल निर्माण गरिसकेको छ । आयोगद्वारा प्रस्तावित योजना सम्बन्धित कार्यालय र विषयगत शाखासँग छलफल तथा समन्वय गरी अघि बढाइने उनको भनाइ छ ।