close

शिवराजमा खेल महोत्सव : १५ सय खेलाडी सहभागी

शिवराजमा खेल महोत्सव : १५ सय खेलाडी सहभागी

Trulli
ADVERTISEMENT

कपिलवस्तु/चन्द्रौटा– कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५ चन्द्रौटामा खेल महोत्सव सुरु भएको छ । ‘समृद्ध नगर सुखी नगरवासी, स्थिर र दिगो विकासको गति : स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ नारासहित खेल महोत्सव आयोजना गरिएको हो । 


खेल प्रतियोगिता उद्घाटन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले शिक्षा, स्वास्थ्यसँग जोडिएको खेल स्पर्धाबाट नगरपालिकालाई चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । खेलाडी राष्ट्रका गहना भएकाले तिनको क्षमता विकासमा प्राथमिकता दिनुपर्ने उनले बताए ।

 

कार्यक्रममा शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले शिवराजभित्रका खेलाडीले नगरको मात्र नभई जिल्ला हुँदै राष्ट्रको नाम राख्न सक्ने अपेक्षासहित खेल स्पर्धा सञ्चालन गरिएको जानकारी दिए ।

 

शिवराज नगरपालिकाले खेललाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको उनको भनाइ छ । विगत वर्षजस्तै यो वर्ष पनि खेल महोत्सवलाई प्राथमिकतामा राख्दै  व्यवस्थित गरिएको अधिकारीले बताए । आगामी माघमा पालिका स्तरीय प्रतियोगिता आयोजना गर्ने तयारीमा अगाडि बढिरहेको उनको धारणा छ ।


खेल महोत्सवमा प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले खेलकुद प्रतियोगिताले युवायुवतीलाई सही बाटोमा हिँडाएर राष्ट्रका लागि योगदान दिन सक्ने बताए ।
कार्यक्रममा विभिन्न राजनीतिक दल र संघ–संस्थाका प्रतिनिधिरुले खेल स्पर्धा सफलताको कामना गरेका थिए ।  खेल महोत्सवमा विद्यालय स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता, मेयर कप र उपमेयर कपमा शीर्षकमा विभिन्न खेल स्पर्धा हुनेछ ।


राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत भलिबल, एथलेटिक्स, कराते, उसु, कपर्दी प्रतियोगिता हुनेछन् । मेयर कपतर्फ फुटबल, क्रिकेट र भलिबल खेलाइनेछ ।

 

उपमेयर कपतर्फ फुटबल, भलिबल र कराते प्रतियोगिता  हुने  नगर खेलकुद विकास समिति संयोजक नेत्रप्रसाद बेल्वासेले जानकारी दिए ।  शिवराज नगरपालिकाको आयोजनामा बिहीबारबाट सुरु भएको महोत्सवमा १० वटा वडा १५ वटा विद्यालयका १ हजार ५ सय १६ जना खेलाडीको सहभागिता रहेको शिक्षा तथा खेलकुद शाखा अधिकृत पूर्ण विकले बताए ।