close

प्रदेश १ मा तीन वर्षमा १ हजारभन्दा बढीको सवारी दुर्घटनाबाट मृत्यु

प्रदेश १ मा तीन वर्षमा १ हजारभन्दा बढीको सवारी दुर्घटनाबाट मृत्यु

Trulli
ADVERTISEMENT

विराटनगर– दिनप्रति दिन बढ्दै गएको सवारी साधन दुर्घटनाबाट बच्न र बचाउन सवारी नियम पालनाको विकल्प नरहेको बताइएको छ । सडक अनुशासन तथा सवारी साधन दुर्घटना न्यूनीकरणका लागि आजदेखि प्रदेश नं १ को १४ वटै जिल्लामा सुरु भएको ट्राफिक सप्ताह–२०७८ को सन्दर्भमा सो धारणा आएको हो ।

 

सो अवसरमा प्रदेश १ का  प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अरुणकुमार विसीले प्रदेशमा दैनिक सरदर एक दशमलव शून्य चार जनाको मृत्यु भइरहेको जानकारी दिए । यस प्रदेशमा आव २०७५/७६ मा ३१३, २०७६/७७ मा ३३२, २०७७/७८ मा ४४४ जनाको दुर्घटनाबाट मृत्यु भएको छ भन्दै उनले यो भयावह स्थितिलाई न्यूनीकरण गर्न सबैको दायित्व भएकाले ट्राफिक सप्ताहअन्तर्गत एक सातासम्म विविध कार्यक्रम सञ्चालन गरी सवारी नियम पालना गराउनेतर्फ ट्राफिक प्रहरी सचेत रहेको छ भने ।

 

आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले व्यवस्थित र सुरक्षित जीवनयापन गर्न अनुशासित भई सवारी नियम पालना गर्नुपर्नेमा जोड दिए । उनले दुर्घटनाको जोखिम र मृत्युलाई छल्न नसकिने भएकाले सवारी चालक, बटुवा सबैले ट्राफिक नियम पालना गर्नुपर्ने सुझाव दिए । मन्त्री कार्कीले कोशी ब्यारेजदेखि मेचीसम्म र रानीदेखि धरानसम्म राजमार्गमा सिसी क्यामेरा जडान गर्ने योजना र  विराटनगरको ट्राफिक व्यवस्थापनका लागि पुरानो गुद्रीमा स्मार्ट पार्किङ बनाउन केही समयपछि नै विराटनगरमा प्रदेशस्तरीय बसपार्क शिलान्यास गरिने जानकारी दिए ।

 

सामाजिक विकास मन्त्री जयराम यादवले मादकपदार्थ सेवनबाटै सबैभन्दा बढी सवारी दुर्घटना भइरहेकाले मानिसले नैतिक आचरण र व्यवहार सुधार गर्नुपर्नेमा जोड दिए । यातायात आन्तरिक मामिला तथा कानून सचिव कालीप्रसाद पराजुली, सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल र व्यवसायी महासङ्घ प्रदेश १ का अध्यक्ष सरोज श्रेष्ठले पनि सवारी साधनको दुर्घटनाबाट पर्ने असरबारे चर्चा गरे ।