close

जुम्लाको आयुर्वेद केन्द्रले ५ महिनासम्मै गरेन एक रुपैयाँ खर्च !

जुम्लाको आयुर्वेद केन्द्रले ५ महिनासम्मै गरेन एक रुपैयाँ खर्च !

Trulli
ADVERTISEMENT

जुम्ला–सरकारी कार्यालयको कामकाज चालू आर्थिक वर्षको साउन महिनादेखि नै सुरु हुन्छ । तर, जुम्लाको आयुर्वेद स्वास्थ्य केन्द्रको पाँच महिनासम्म पुँजीगत खर्च शून्य रहेको छ । ५ महिनाको तलब सेवा–सुविधाबाहेक अन्य पुँजीगत खर्चको काम केही हुन नसकेको हो । कार्यालय प्रमुख देवेन्द्र ठाकुर दसैँमा घर गएर २ महिना बिनाजानकारी बसेपछि कामकाज प्रभावित भएको हो । 

 

कार्यालय प्रमुख ठाकुर दसैँपछि पुस पहिलो साता फर्किएपछि कामकाज प्रभावित भएको स्वास्थ्य केन्द्रका कर्मचारी बताउँछन् । कार्यालय प्रमुखले अन्य कर्मचारीलाई जिम्मेवारी पनि नदिने, आफू पनि काम गर्ने समस्याले जुम्लाको आयुर्वेद स्वास्थ्य केन्द्र थलिँदै गएको हो । 

 

कार्यालय प्रमुख ठाकुर १ पुसबाट जुम्लामा हाजिर भएका छन् । तर, ५ महिना कटिसक्दा कार्यालयको पुँजीगत खर्च मर्मतसम्भार, डिपिआर निर्माण, औषधी खरिद, नागरिक आरोग्य केन्द्र स्थापनाका काम हुन सकेका छैनन् । आयुर्वेद स्वास्थ्य केन्द्रका अन्य कर्मचारीलाई जिम्मेवारी नदिएपछि पँुजीगत खर्च शून्य अवस्थामा रहेको हो । 


कार्यालय प्रमुख ठाकुर आफू बिरामी भएर घर बसेको बताउँछन् । निमित्तको जिम्मेवारी कर्मचारी गोरबहादुर रावतलाई दिएको उनले दाबी गरे । तर, कर्मचारी रावतले कार्यालय प्रमुख ठाकुरले कुनै पनि जिम्मेवारी नदिएकाले अहिलेसम्म काम प्रभावित भएको बताए । उनले भने, ‘अहिलेसम्म कसैलाई पनि निमित्त नदिँदा सबै काम प्रभावित भएको हो । कार्यालय प्रमुख नियमित उपस्थित नभएपछि खर्च हुने कुरा पनि भएन ।’ 


जुम्लाको आयुर्वेद स्वास्थ्य केन्द्रमा धेरै सेवाग्राही आउने गरेका छन् । दैनिक १० देखि १५ जना सेवाग्राही आउँछन् तर औषधी अभावले उपलब्ध गराउन नसकिएको राउतले बताए । कार्यालयको रकम बैंक खातामा भए पनि औषधी खरिद प्रक्रिया अगाडि नबढाइएपछि सेवाग्राही औषधी पाउनबाट वञ्चित भएका छन् ।  ५ महिनासम्म हाकिम नभएको खबर पाएपछि स्थानीय प्रशासनले छड्के गरेर ठाकुरको हाजिरीमा रातो लगाइदिएको छ ।

 

२ लाख बेरुजु 

गत वर्ष आयुर्वेद स्वास्थ्य केन्द्र जनस्वास्थ्य कार्यालयसँग गाभिएको थियो । अहिले छुट्टै संरचना बनेको छ । गत वर्षकै करिब २ लाख रुपैयाँ प्रमुख ठाकुरको नाममा बेरुजु रहेको जनस्वास्थ्य कार्यालयले बताएको छ । कार्यालय प्रमुख कृष्ण सापकोटाका अनुसार ठाकुरको नाममा २ लाख रुपैयाँको बेरुजु जडीबुटी खरिद नगरेको देखिएको हो । 


गत वर्ष १२ लाख फ्रिज 
कार्यालय प्रमुख ठाकुर भने १ मंसिरबाट आफ्नो सरुवा भइसकेको बताउँछन् । उनलाई आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटमा कामकाज गर्न कर्णाली प्रदेश सामाजिक विकास कार्यालयले खटाएको छ । गत आर्थिक वर्षमा पनि काम गर्न नसकेर १२ लाख रुपैयाँ फ्रिज भएको थियो ।

 

स्थानीय प्रशासनले कार्यालय प्रमुख ठाकुरको काम–कारबाहीबारे छड्के अनुगमन गरी स्पष्टीकरण मागिएको निमित्त प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले जानकारी दिए ।