close

जुम्लामा चोरी भो पार्किङ गरेको ट्रयाक्टर !

जुम्लामा चोरी भो पार्किङ गरेको ट्रयाक्टर !

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्ला सदरमुकाम खलंगाको चन्दननाथ नगरपालिका वडा नम्बर ५ स्थित बसपार्क नजिकै पार्किङ गरिराखेको ट्रयाक्टर चोरी भएको छ । भे१त १२७६ नम्बरको ट्रयाक्टर चोरी भएको हो । यसअघि मोटरसाइकल चोरी हुने गरे पनि जुम्लामा पहिलो पटक पार्किङमै राखेको ट्रयाक्टर चोरी भएको हो ।

 

विपिन टेड्रर्सका सञ्चालक विजयकुमार अग्रहरीको घरअघि पार्किङ गरेको रातो रंगको होल्यान्ड कम्पनीको ट्रयाक्टर पार्किङ स्थलबाटै चोरी भएको निर्माण व्यवसायी सुमन खड्काले बताए । पछिल्लो समय ठूला सवारीसाधनसमेत पार्किङ गरेको स्थानबाटै चोरी हुन थालेपछि जुम्लाको शान्ति–सुरक्षामा चुनौती देखिएकोे छ ।


जुम्लामा डरलाग्दा चोरीका घटना बढ्न थालेका छन् । चोरी भएको स्थानमा चौबीसै घन्टा प्रहरी ड्युटीमा बस्ने गर्छन् । नियमित गस्तीसमेत गर्छन् । ‘प्रहरीले ड्युटी गरिरहेकै स्थानबाटै ट्रयाक्टर चोरी हुनु अचम्म हो’, खड्काले भने, ‘अब सुरक्षा व्यवस्थाबारे प्रहरीमाथि नै प्रश्न गर्ने बेला आयो । योजनाबद्ध चोरी भएकाले चोर पत्ता लगाउन प्रहरीले नै तदारुकता देखाउनुपर्छ ।’


चोरिएको ट्रयाक्टर खोजीका लागि जिल्ला प्रहरी कार्यालय जुम्लामा निवेदन दिइसकिएको खड्काले जानकारी दिए । ट्रयाक्टर मालिक अग्रहरीले सदरमुकाम क्षेत्रबाटै ट्रयाक्टर चोरी हुनुले शंका उत्पन्न भएको बताए । 

 

उनले भने, ‘प्रहरी प्रशासनबाट सुरक्षानुभूति हुन सकेन । तत्काल ट्रयाक्टरको खोजी होस् । जुम्लाबासीलाई सुरक्षा प्रत्याभूति होस् । कुनै पनि नागरिक शान्तिपुर्वक बस्न पाउनुपर्ने अधिकारको ग्यारेन्टी होस् ।’


जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी नरेन्द्र चन्दले ट्रयाक्टर चोरी भएको जानकारी आउनेबित्तिकै खोजी थालिएको बताए । उनले भने, ‘जुम्ला–कालीकोट सिमाना रारालिहीदेखि बाहिर गएको देखिँदैन । कतै गाउँमा लगेर राखिएको हुन सक्छ । सबै प्रहरी युनिटमा खबर भइसकेको छ ।’