close

चितवनमा थपिए ९ हजार बढी मतदाता

चितवनमा थपिए ९ हजार बढी मतदाता

Trulli
ADVERTISEMENT

चितवन– चितवनमा मतदाता नामावली संकलन भइरहेको छ । जिल्ला निर्वाचन कार्यालय चितवनले सञ्चालन गरेको मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८ अन्तर्गत हालसम्म ९ हजार ७६६ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । कार्यालय प्रमुख भीमसेन कार्कीका अनुसार १७ मंसिरदेखि सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत हालसम्म ४ हजार ४४५ महिला र ५ हजार २२१ पुरुषले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।

 
अभियानअन्तर्गत पहिलो चरणमा माडी, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा ३ हजार ५४२ जनाले नाम दर्ता गराएका छन् । ४ पुसदेखि सञ्चालन भएको दोस्रो चरणअन्तर्गत राप्ती, खैरहनी र रत्ननगरमा १ हजार ७८८ जनाले नाम दर्ता गराएको उनले जानकारी दिए । उनका अनुसार माडी नगरपालिकामा ७१२ महिलासहित १ हजार ५५१, कालिका नगरपालिकामा ६६२ महिलासहित १ हजार ३७७ र इच्छाकामना गाउँपालिकामा ३१५ महिलासहित ६१४ ले नाम दर्ता गराएका छन् । 

 

दोस्रो चरणअन्तर्गत राप्ती नगरपालिकामा ३६४ महिलासहित ७६९, खैरहनी नगरपालिकामा २५६ महिलासहित ५३७ र रत्ननगर नगरपालिकामा २४८ महिलासहित ४८२ जनाले नाम दर्ता गराएका छन् । दोस्रो चरणअन्तर्गत मतदाता नामावली संकलन १८ पुससम्म सञ्चालन हुनेछ । जिल्ला प्रशासन कार्यालय चितवनमा १ हजार ३९ जनाले नाम दर्ता गराएका छन् । यीसमध्ये महिला ४७४ महिला र ५६५ पुरुष रहेका छन् । 

 

जिल्ला निर्वाचन कार्यालयमा २ हजार ६१३ जनाले नाम दर्ता गराएका छन् । यीमध्ये १ हजार ३८१ पुरुष, १ हजार २३२ महिला रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ । स्थायी बसोबास अन्य जिल्ला भए पनि चितवनमा आएर मतदाता नामावली संकलन गराउने ५७२ रहेका छन् । दोस्रो चरणमा पालिकाको कार्यालय रहेको स्थानमा एक÷एक वटा दर्तास्थल राखिएको छ ।

 

जिल्ला निर्वाचन कार्यालयमा ३ वटा र जिल्ला प्रशासन कार्यालयमा एउटा दर्तास्थल राखेर मतदाता नामावली संकलनलाई तीव्र पारिएको कार्कीले जानकारी दिए । कार्यालयका अनुसार अभियान सुरु हुनुअघि जिल्लामा ३ लाख ८० हजार ५५८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए ।

 

५ पुस ०७७ मा निर्वाचनको मिति तोक्दा जिल्लामा ३ लाख ६८ हजार ३८२ मतदाता थिए, जुन नामावलीमा नाम दर्ता गराएर १८ वर्ष उमेर कटेका हुन् । ०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा ३ लाख ५४ हजार ३६ जना मतदाता रहेका थिए ।

 

मतदाता नामावलीमा नाम संकलनका लागि राजनीतिक दलले चासो दिन थालेको कार्कीको भनाइ छ । उनले भने, “राजनैतिक दलहरूले मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि फाराम लाने, फाराम भरेर मतदाता ल्याउने जस्ता काम गरिरहनुभएको छ ।” मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि सक्कल नागरिकता, बसाइसराइको प्रमाणपत्र, विवाह दर्ता जस्ता आवश्यक कागजपत्र अनिर्वाय गरिएको उनले जानकारी दिए । जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन् ।