close

अचल सम्पत्ति विवरण पठाउन पर्यटन मन्त्रालयको ताकेता

अचल सम्पत्ति विवरण पठाउन पर्यटन मन्त्रालयको ताकेता

Trulli
ADVERTISEMENT

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका निकायबाट अचल सम्पत्तिको अद्यावधिक विवरण माग गरेको छ । सरकारी निकायलाई नै आफ्नो सम्पत्ति कति छ भन्ने थाहा नहुँदा सरकारी सम्पत्तिको दुरुपयोग भइरहेको भन्दै मन्त्रालयले मातहतका निकायबाट अचल सम्पत्तिको विवरण अध्यावधिक गर्ने निर्णय गरेको हो ।

 

मन्त्रालयले आफू मातहतका नेपाल वायुसेवा निगम, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल पर्यटन बोर्ड, विभिन्न विकास समिति, पर्यटन तथा पुरातत्त्व विभाग र संग्रहालयहरूलाई पत्र लेख्दै यस्तो विवरण पठाउन भनेको हो ।

 

मन्त्रालयले पत्रमा भनेको छ, ‘हरेक निकायले आ–आफ्नो स्वामित्वमा रहेका जग्गा–जमिन, भवन र सवारीसाधनको अध्यावधिक विवरण तयार गरी यस्तो सम्पत्तिको उपयोग र संरक्षण गर्नु जरुरी छ ।’

 

आफ्नो स्वामित्वमा रहेका जग्गा, भवन तथा सवारी साधनको लगत नराख्दा त्यसको उपयोग गर्ने, परिचालन र संरक्षणमा समेत समस्या भएको भन्दै मन्त्रालयले सबै निकायलाई सचेत गराएको हो ।

 

कतिपय सार्वजनिक तथा सरकारी जग्गा–जमिन, भवन र सवारी साधन बेवारिसे अवस्थामा रहेको भन्दै यसबाट सरकारी सम्पत्तिको दुरुपयोग तथा अतिक्रमणसमेत भएको मन्त्रालयको भनाइ छ । सरकारी सम्पत्तिको संरक्षण गर्ने कार्य सबै कर्मचारी र पदाधिकारीको कार्यसम्पादन मूल्यांकनसँग जोडिएको विषय भएको भन्दै मन्त्रालयले मातहतका निकायबाट विवरण माग गरेको हो ।

 

अब पर्यटन मन्त्रालय मातहतका ती निकायले आफ्नो स्वामित्वमा कति जग्गा छ, कति भवन छन्, सवारीसाधन परिचालनको विवरणसमेत संकलन गर्नुपर्नेछ । सरकारी निकायले आफ्नो स्वामित्वमा रहेको जग्गा–जमिन, भवन र सरकारी साधनको खोजी गरी प्रोफाइल बनाउने र त्यसको अभिलेखीकरण गर्ने र संरक्षण तथा उपयोगको काम सुरु गर्न मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयको ८ पुसको सचिवस्तरीय निर्णयअनुसार यस्तो निर्देशन दिइएको हो ।