close

भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि ९४ हजारले बुझाए विवरण

भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि ९४ हजारले बुझाए विवरण

Trulli
ADVERTISEMENT

काठमाडौं– भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन सुरु भएयता ९२ हजार बढीले फोटोसहितको विवरण बुझाएका छन् ।  सरकारको कार्यक्रमअनुसार जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लाको ४ वटै नगरपालिकामा सञ्चालन गरेको अभियानमा ९२ हजार बढीले राष्ट्रिय परिचयपत्रका लागि विवरण बुझाएको र अभियान सम्पन्न हुने समयसम्म १ लाख बढीले विवरण बुझाउने आकलन गरिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

 

हाल जिल्लाको चाँगुनारायण नगरपालिकामा विवरण संकलन सम्पन्न भइसकेको छ भने सूर्यविनायक र भक्तपुर नगरपालिकाका केही वडास्तरमा विवरण संकलन भइरहेको छ ।  १२ पुसदेखि मध्यपुरथिमि नगरपालिकामा विवरण संकलन अभियान सुरु भएको छ ।

 


प्रजिअ शर्माका अनुसार जिल्लाका ४ नगरपालिकाका वडास्तरमा ७६ वटा विवरण संकलन स्टेसन सञ्चालन गरी राष्ट्रिय परिचयपत्र विवरण संकलनको काम गरिएको छ । प्रत्येक स्टेसनमा फोटो खिच्न दुई क्यामेरा, दुई कम्प्युटरसहित दुई जना कम्प्युटर अपरेटर, एक जना रुजु अधिकारी र आवश्यकतानुसार सहयोगी कर्मचारी गरी दुई जना कर्मचारी खटाइएको छ । 

 


राष्ट्रिय परिचयपत्र कार्यान्वयन आएपछि राहदानी, नागरिकता, सवारी चालक अनुमतिपत्र, जग्गाधनी प्रमाण पुर्जालगायत व्यक्तिका अन्य विवरण यही परिचयपत्रमा समावेश हुने भएकाले अभियानलाई सफल पार्नुपर्ने उनले बताइन् । 

 

 

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अहिले आफ्नो नगरपालिकामा अभियान भएको र आगामी २६ पुससम्म विवरण संकलन गरिने भएकाले यसलाई सफल बनाउन नगरपालिकाकाबाट आवश्यक सहयोग गर्ने बताए ।

 

जिल्लामा २६ पुस विवरण संकलन सम्पन्न गरिने जानकारी दिँदै प्रजिअ शर्माले वडास्तरमा राष्ट्रिय परिचयपत्र विवरण बुझाउने अभियान सम्पन्न भए पनि जिल्ला प्रशासन कार्यालयमा नियमित रूपमा विवरण बुझाउने व्यवस्था गरिएकाले छुटेकाले त्यहाँबाट बुझाउन सक्ने जानकारी दिइन् । 

 


जिप्रकाले नागरिकता बनाउन आउनेको भने कार्यालयमै परिचयपत्रको विवरण भराउने गरेको छ । सरकारले राहदानी लिन अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्रको नम्बर राख्नुपर्ने व्यवस्था गरेपछि विवरण बुझाउनेको चापसमेत बढेको छ ।