काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिर क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका टहरा हटाउन निर्देशन दिएका छन् । आइतबार उक्त क्षेत्रको निरीक्षण तथा अनुगमनमा गएका मन्त्री आलेले पशुपतिनाथ क्षेत्रमा रहेका सरकारी जमिन अतिक्रमण गरी निर्माण गरिएका टहरा १५ दिनभित्र हटाउन निर्देशन दिएका हुन् ।
‘गुहेश्वरीमा थुप्रै ठाउँमा टहरा बनाएर कब्जा गर्ने र अतिक्रमण गर्ने काम भएको छ । यहाँ बनाइएका टहरा हटाउन निर्देशन दिएको छु । अतिक्रमण गर्न पाइँदैन,’ उनले भने । मन्त्री आलेले पशुपति क्षेत्र विकास कोषको हाताभित्र थुप्रै विकृति भएको बताए ।
विगतका सदस्य सचिवले मनपरी ढंगबाट काम गरेको तथा विकास कोषमा कुनै पनि मासिक भाडा नआउने गरी निःशुल्क रूपमा गाईपालन गर्न जमिन दिएको पाइएकाले ती विकृति अन्त्य गर्ने उनको दाबी छ । ‘पशुपति क्षेत्र विकास कोषबाट अनुमोदन नै नगरी कतिपय ठाउँ र जमिन भाडामा दिइएको देखियो । यस्ता विकृति अन्त्य हुन्छन्,’ उनले भने ।
पशुपति क्षेत्र विकास कोषको हाताभित्र रहेका किरियापुत्री बस्ने ठाउँलाई व्यवस्थित गर्न पहल भइरहेको समेत उनले जानकारी दिए । उनले किरियापुत्री बस्ने ठाउँमा तातो–चिसो पानीको व्यवस्थापन गर्ने बताए ।
मन्त्री आलेले गोठाटारमा रहेको जग्गा पनि अतिक्रमण भएकाले त्यो पनि १५ दिनभित्र हटाइने जानकारी दिए । पशुपति मन्दिर क्षेत्रमा जम्मा हुने फोहोर व्यवस्थापनका लागि काम अगाडि बढाउनसमेत उनले कोषका पदाधिकारीलाई निर्देशन दिए ।