close

फोहोर व्यवस्थापनमा जुट्यो भरतपुर महानगर

फोहोर व्यवस्थापनमा जुट्यो भरतपुर महानगर

Trulli
ADVERTISEMENT

चितवन– भरतपुर महानगर कोरियाली सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा फोहोर व्यवस्थापनमा अगाडि बढेको छ । दुई देशबीच सम्झौता गरी १ अर्ब २५ करोड रुपैयाँको लागतमा ल्यान्डफिल साइट निर्माण गर्न लागिएको हो । 

 


महानगरमा जनप्रतिनिधि आएसँगै फोहोर व्यवस्थापन अध्ययन थालिएको थियो । महानगर प्रमुख रेनु दाहालका अनुसार कोरियाली सरकारको सहयोगमा पहिलो चरणमा महानगरको फोहोर व्यवस्थापनको गुरुयोजना तयार गरिएको छ ।

 

महानगरको फोहोर व्यवस्थापनबारे विस्तृत अध्ययनपछि प्रतिवेदन तयार गरिएको हो । दुई सरकारबीच ‘जीटुजी’ माध्यमबाट सम्झौता गरी काम अघि बढाउन लागिएको उनले जानकारी दिइन् । महानगर प्रमुख दाहालले भनिन्, ‘कोरियाली सरकार र नेपाल सरकारबीच केही दिनमै सम्झौता गरी काम अघि बढ्छ ।’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्झौता गर्नुपर्नेछ ।

 

पालिकाले विदेशी सहायता र सहयोग सोझै ल्याउन नपाउने भएकाले मन्त्रालय चरणबाट काम गर्नुपर्दा केही ढिलाइ भएको बताउँदै उनले भनिन्, ‘केही ढिलो भए पनि भरतपुर महानगरमा आधुनिक वैज्ञानिक ल्यान्डफिल साइट बन्छ ।’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पूर्ण प्रक्रिया पूरा गरी सम्झौताका लागि अर्थ मन्त्रालयमा फाइल पठाइसकेको छ । मन्त्रालयको योजना तथा विकास सहायता समन्वय महाशाखा प्रमुख सहसचिव विष्णुदत्त गौतमले सम्पूर्ण प्रक्रिया पूरा गरी अर्थ मन्त्रालयमा फाइल पठाइएको बताए ।

 

‘गत डिसेम्बरमा काम सम्पन्न गर्ने तयारी थियो । कोभिडका कारण ढिलो भएको हो । केही दिनमा अर्थ मन्त्रालयले प्रक्रिया पूरा गरेर सम्झौता गर्ने भएको छ,’ उनले भने । कोरियाली सरकारले ल्यान्डफिल साइट निर्माण गरी नेपाली कर्मचारीलाई तालिमसमेत दिएर परियोजना हस्तान्तरण गर्ने सहसचिव गौतमले जानकारी दिए । यसले महानगरभित्रका सबै फोहोर व्यवस्थापन गर्छ । 

 

‘केही ढिलाइ भए पनि महत्तवपूर्ण काम भएको छ,’ उनले भने । महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले वडा नम्बर ११ को आँपटारीस्थित जलदेवी सामुदायिक वनभित्रको ९ दशमलव ९ हेक्टर जमिनमा आधुनिक ल्यान्डफिल साइट बन्ने बताए । सो ठाउँमा ल्यान्डफिल साइट बनाउने जग्गा महानगरपालिकाले माडी नगरपालिका वडा नम्बर १ मा खरिद गरिसकेको छ ।

 

सुवेदीका अनुसार ल्यान्डफिल साइट सम्पन्न भएसँगै समग्र महानगरको फोहोर व्यवस्थापन सहज हुनेछ । अधिकांश फोहोरलाई पुनः प्रयोग गरी व्यवस्थापन गर्नैपर्ने फोहोरलाई मात्रै व्यवस्थापन गरिनेछ । महानगरमा अहिले दैनिक ७० टन फोहोर संकलन हुने गर्दछ । अत्याधुनिक उपकरण प्रयोग गरी ल्यान्डफिल साइट व्यवस्थित गर्न लागिएको उनले बताए ।

 

महानगरको वातावरण शाखा प्रमुख ई. विराट घिमिरेका अनुसार सात ठाउँमा फोहोर संकलन स्टेसन बनाइनेछ । ती ठाउँबाट फोहोर ओसार्न साधनको व्यवस्थापन यही परियोजनाअन्तर्गत गरिनेछ । संकलन हुने फोहोरको १० प्रतिशतबाहेक अरू फोहोर पुनः प्रयोगमा आउने उनको भनाइ छ । दैनिक १०० टनसम्म फोहोर व्यवस्थापन गर्न सक्ने गरी ल्यान्डफिल साइट बनाउन लागिएको हो ।