close

चितवनमा बर्ड फ्लु पुष्टिपछि नष्ट गरियो कुखुरा

चितवनमा बर्ड फ्लु पुष्टिपछि नष्ट गरियो कुखुरा

Trulli
ADVERTISEMENT

चितवन– चितवनको भरतपुर महानगर वडा नम्बर ८ स्थित महतो पोल्ट्री इन्डस्ट्रिज प्रालिद्वारा सञ्चालित फार्ममा पालिएका सबै कुखुरा नष्ट गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले फार्मका कुखुरामा बर्ड फ्लुु पुष्टि भएपछि नष्ट गरेको हो । 

 

केही दिनदेखि कुखुरा मर्न थालेपछि नमुना परीक्षण गरिएको थियो । केन्द्रका निमित्त प्रमुख डा. प्रभात न्यौपानेका अनुसार फार्ममा रहेका ५ हजार ३०५ लेयर्स कुखुरा, १८ हाँस, १०० किलो दाना र १७६ अन्डा नष्ट गरिएको छ । फार्मलाई सिल गरेर नजिकैको एउटा मासु पसल र वरिपरि पालिएका १८ कुखुरासमेत नष्ट गरिएको उनले जानकारी दिए । फार्ममा तीन खोर छन् ।

 

एउटा खोरमा २१ महिनाका १ हजार ५०० कुखुरा रहेकामा मरेर ४६ वटा बाँकी थिए । दोस्रोमा सात महिनाका २ हजार ४०० कुखुरा राखिएकामा मरेर २३२ बाँकी थिए । तेस्रोमा २८ दिनका ५ हजार १०० कुखुरा राखिएकामा मरेर ५ हजार २७ बाँकी रहेको केन्द्र प्रमुख डा. न्यौपानेले बताए । 

 

केही दिनअघि राप्ती नगरपालिका वडा नम्बर ६ मा रहेको अनिता पशुपक्षी कृषि फार्ममा बर्ड फ्लुु देखिएको थियो । जिल्लामा ठूलो संख्यामा कुखुरा भएकाले उच्च सावधानी अपनाउन कृषकलाई अनुरोध गरिएको उनको भनाइ छ । जिल्लाको पूर्वी र पश्चिम दुवै क्षेत्रमा बर्ड फ्लु देखिएपछि कृषकले सावधानी अपनाउन थालेका छन् ।