close

नरैनापुरमा इलाका प्रशासन पुनःस्थापनाको पहल

नरैनापुरमा इलाका प्रशासन पुनःस्थापनाको पहल

Trulli
ADVERTISEMENT

बाँके । नरैनापुरमा इलाका प्रशासन कार्यालय पुनःस्थापनाको लागि पहल गरिएको छ । नरैनापुरमा यथाशीघ्र इलाका प्रशासन पुनःस्थापनाको लागि उपप्रधान तथा गृहमन्त्री रवि लामेछानेलाई नरैनापुरवासीको तर्फबाट ध्यानाकर्षण गराएको बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले जानकारी दिए । 

गृहमन्त्री लामेछानेले गृह सचिव विनोदप्रकाश सिंहलाई इलाका प्रशासन पुनःस्थापनाको लागि निर्देशन दिनुभएकाले अव छिट्टै नरैनापुर गाउँपालिकामा इलाका प्रशासन कार्यालय पुनःस्थापना हुने उनले बताए । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले गृहसचिव सिंहले फोनमार्फत नरैनापुरमा इलाका प्रशासन पुनस्र्थापना गर्न आवश्यक पहल गर्न र स्थानीय सरकारसँग समन्वय गर्न निर्देशन दिएको बताए ।

बाँकेको सदरमुकाम नेपालगञ्जदेखि ४४ किलोमिटर टाढा राप्ती नदीपारी अवस्थित नरैनापुर क्षेत्रमा इलाका प्रशासन कार्यालय नहुँदा स्थानीयवासीले सास्ती झेल्नुपरेको छ । नरैनापुर गाउँपालिका–४ मा रहेको इलाका प्रशासन कार्यालय २०७२ सालमा असुरक्षाको कारण देखाइ नेपालगञ्जमा विस्थापित भएको थियो । त्यसयता स्थानीय सरकारको रुपमा गाउँपालिका कार्यालय स्थापना भइसके पनि इलाका प्रशासन कार्यालय भने हालसम्म पुनःस्थापित हुन सकेको छैन । 

इलाका प्रशासन कार्यालय नहुँदा सहजै प्राप्त हुने नागरिकता प्रमाणपत्र बनाउने लगायतका सेवाबाट नरैनापुरवासी वञ्चित भएको स्थानीय अगुवा सोहनलाल यादवले बताए । उनले अहिले नागरिकता बनाउन सदरमुकाम नेपालगञ्ज आउनुपर्दा जनतालाई समय र आर्थिक भार पर्ने गरेको उल्लेख गरे ।