close

अपाङ्गताले छेकेन सन्तोषलाई

अपाङ्गताले छेकेन सन्तोषलाई

Trulli
ADVERTISEMENT

झापा । सफल उद्यमी बाह्रदशी गाउँपालिका–६ निवासी सन्तोष सुवेदी लिङ्गेपिङ खेल्ने क्रममा खसेर सख्त घाइते हुँदा उनको मेरुदण्डमा नराम्रो असर प¥यो । विसं २०५६ मा बडादसैँको बेलामा बनाइएको लिङ्गेपिङमा मच्चिँदा घाइते भएपछि उनलाई मेरुदण्डको पक्षघात भयो । लामो समयसम्म उपचार गर्दा पनि सन्तोष सपाङ्गसरह हिँड्डुल गर्न नसक्ने भएपछि अहिले ह्विलचियरको सहारा लिँदै आएका छन् ।  

पिङबाट लडेर सख्त घाइते भएका उनलाई तत्काल धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पु¥याइएकामा त्यहाँ पूर्णरूपमा ठीक नभएपछि थप उपचारका लागि काठमाडौँस्थित स्पाइनलकट पुनस्र्थापना केन्द्र पु¥याइयो । त्यहाँबाट पनि राम्रोसँग उपचार हुन नसक्दा सन्तोष अहिले पनि सपाङ्ग सरह  हिँड्डुल गर्न सक्दैनन् ।  

मध्यमवर्गीय जयनारायण सुवेदी र रनमायाका जेठा छोरा उनी  विसं २०३७ मा  पाँचथरको साबिक नान्गिन गाविस–८ मा जन्मेका हुन्। राम्रो शिक्षादीक्षा दिलाउने उद्देश्यले झापाको साबिक डाँगीबारी गाविस–८ मा बसाइँ सरेको सन्तोषको परिवारमा २०५६ सालको बडादसैँका बेला सो बज्रपात परेको थियो । त्यसबेला उनस् १९ वर्षको मात्रै थिए । 

शारीरिकरूपमा अशक्त सन्तोषको कामप्रतिको ऊर्जा भने सपाङ्गको भन्दा कम छैन । शारीरिक अपाङ्गता भएका व्यक्तिले गरेका कामका कारण उनको चर्चा अहिले दिनदिनै समाजमा फैलिनाका साथै विदेशीले समेत सन्तोषलाई खोज्न थालेका छन् ।  

अनलाइन व्यापारमा पोख्त सन्तोष घरमै बसीबसी लाखौँको कारोबार गर्छन् । अनलाइन व्यापार झट्ट सुन्दा सजिलो लागे पनि सन्तोषको काम त्यतिमा मात्र सीमित छैन । आफैँले ‘ब्ल्याक राइस’ उत्पादन गर्दै खाडीसहित युरोपियन मुलुकमा बिक्री गर्दै आएका छन् । उनी त्यस क्षेत्रको सफल कृषक पनि हो ।  सुडानबाट ल्याइएको कालो मकै, अमेरिकाबाट ल्याइएको कालो आलु र कालो धानको खेतीले सन्तोषलाई अहिले देशीविदेशीले खोजिरहेका हुन्छन् । नयाँनयाँ प्रविधि अपनाएर बीउ उत्पादनमा उत्तिकै पोख्त उनले अनाजसँगै पशु आहारका लागि  पनि उत्तिकै काम गर्दै आएकोले विदेशमा समेत परिचित हुनाका साथै उत्पादित बस्तु बिक्रीबाट राम्रो मुनाफासमेत आर्जन गर्दै आएका छन् ।

कालो धान औषधिको रुपमा प्रयोग गरिने भएकाले यसको माग विश्व बजारमा धेरै रहेको सन्तोषको भनाइ छ । अन्य चामलको तुलनामा यो चामलमा धेरै प्रोटिनका साथै आवश्यक अन्य पोषकतत्ब हुने भएकाले पनि यसको माग उच्च रहेको उनी बताउँछन् । यसमा एन्टिअक्सिडेन्ट हुने भएकाले बहुउपयोगी मानिदै आएको उनको भनाइ छ ।   

‘ब्ल्याक राइस’को माग विश्व बजारमा उच्च भएसँगै आफूले कालो धानको बीउ उत्पादन र घरमै बसीबसी अनलाईनमार्फत पनि बिक्री गरेर अहिले राम्रो कमाई गरिरहेको सन्तोष बताउँछन्  । अहिले कालो धानको बीउसँगै  कालो आलु र कालो मकैको बीउसमेत बिक्री हुँदै आएको छ । उनले गतवर्षदेखि  कालो धानका थप तीन प्रजाति नेपाल भित्र्याएर बीउ, उत्पादन शुरु गरेको हो । बर्मेली ब्ल्याक राइस, बी वान र लङ ग्रिन ब्ल्याक राइसको  बीउ उत्पादन शुरु गरिएको र पशु आहारका लागि घाँसको बीउ समेत उत्पादन गर्दै नेपालका विभिन्न जिल्लामा बिक्री गर्दै आएका  छन् । पोसिलो घाँँस उत्पादनमा आफूले छोटो समयमा सफलता हात पारेको सन्तोषको तर्क छ ।

पशु आहारका लागि मक्का क्रस, बाजुरा क्रस, डिएचएन सिक्स, अस्टे«लीयाली रेड नेपियर, मुम्वासा, ताइवान जाइन किङ, बङ्गालादेशी नेपियरजस्ता प्रजातिको घाँसको बीउ उत्पादन गरेर बिक्री गर्दै आएका सन्तोषले घाँसको बीउ पनि बेचेर पनि उत्तिकै कमाइ गरिरहनु भएको र उत्पादित घाँस पश्चिम नेपालका विभिन्न जिल्लामा पुग्ने गरेको छ । 'इन्टरनेटको माध्यमबाट घाँसका प्रजातिका विषायमा सर्च गर्दै सुरुमा गहिरो अध्ययन गरेपछि प्रयोगका लागि  बीउ मगाएर आफैँले खेती गरेँ' उनी भन्छन्, 'आफूले लगाएको उन्नत जातको घाँस राम्रो र पशुआहारका लागि उपयुक्त ठहरिएपछि त्यसकै बीउ उत्पादन गर्दै व्यापार थालेको हुँ ।'

    सन्तोषको काममा  परिवारले साथ दिएका छन् । उनका भाइबुहारी इन्द्र र मीना तथा  बाबुआमाको  हौसला र सहयोगले  विश्व बजारमा इन्टरनेटकै माध्यमबाट व्यापार व्यवसाय सञ्चालन गर्दै लाखौँ रु कमाई गरिरहेका छन् । उत्पादित घाँस महेन्द्रनगर, धनगढी, सुर्खेत, बारा, पर्सालगायत जिल्लामा बढी बिक्री हुने गरेको छ भने कालो आलु, कालो मकै, कालो धान पाकिस्ताान, दुबई, अमेरिकालगायत देशमा पुग्ने गरेको सन्तोषको भनाइ छ ।

बीउका लागि उत्पादन गरिएको घाँस साइलेज प्रविधि अपनाएर भण्डारण गर्नाका साथै सन्तोषले व्यवसायिकरूपले बोयर र रेड बोयर प्रजातिका बाख्रापालन गरेका छन् । बाख्रापालनबाट समेत राम्रो मुनाफा लिँदै आएका उनीसँग अहिले उन्नत जातका १३ वटा बोयर बोका छन् । प्रत्येक बोकाको मूल्य झन्डै रु ५० हजारदेखि रु ७० हजार हजारसम्म पर्ने गरेको सन्तोषको भनाइ छ ।

 आफूले उत्पादन गरेको सामान बिक्री गर्दा र नयाँनयाँ प्रजातिका बीउ आयात गर्दा कहिलेकाहीँ क्वारेन्टिनका कर्मचारीले झन्झट दिने गरेको सन्तोषको दुःखेसो छ । कृषि, व्यवसाय र पशुपालनमा रम्नुभएका उनी फूलको पनि पारखी हुन् । सजावटका लागि रोपिएका फूल बिक्री हुन थालेपछि पछिल्लो समय सन्तोषले फूलको व्यावसायिक खेतीसमेत गरेका छन् । हरेक याममा पाइने फूलका बिरुवा उत्पादनले मनग्य आम्दानी दिन थालेको छ । उनका नर्सरीमा अहिले  टेरिसबल, कलकत्ते सयपत्रीलगायत  विभिन्न प्रजातिका फूलका बेर्ना प्रशस्त रहेका र धेरैजसो फूल तथा बिरुवा अनलाइनबाटै बिक्री हुँदै आएको छ ।

घैलाडुब्बा आदर्श विद्या मन्दिरबाट २०६४ सालमा एसएलसीसम्मको अध्ययन पूरा गरेका उनले त्यसअघिको पढाइलाई निरन्तरता दिएनन् । बाह्रदशी अपाङ्ग अभियानका अध्यक्ष हुन् उनी । 

उक्त गाउँपालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई सीपमूलक काममा सहजीकरण गर्दै  आएका छन् । उनी सबैलाई आयअर्जनको बाटोमा डो¥याएर सँगसँगै अघि बढाउन निर्वाह गर्दै आएका छन् ।