close

महानगरका प्रमुख कोइराला र अमेरिकी राजदूत थोम्सनबीच भेटवार्ता

महानगरका प्रमुख कोइराला र अमेरिकी राजदूत थोम्सनबीच भेटवार्ता

Trulli
ADVERTISEMENT

मोरङ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीसँग नेपालका लागि अमेरिकाका राजदूत डिन आर थोम्सनसँग बिहीबार शिष्टाचार भेट भएकाे छ ।  भेटमा राजदूत थोम्सन विराटनगरको विकासका लागि अमेरिकी सरकार सँग समन्वय गर्न तयार रहेको बताएका छन्।
 
  उनले विराटनगरको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि अमेरिकी सरकारसँग आफूले समन्वयकारी भूमिका खेल्ने बताए ।

 उनले शिक्षा र स्वास्थ्यमा सुधार नगरेसम्म विकास सम्भव नभएको प्रतिक्रिया दिँदै भने, 'जति पनि मुलुकले विकास गरेका छन् ती मुलुकले शिक्षा र स्वास्थ्यमा सुधार गरेकै कारण विकास भएको हो ।' 

उनले मानव बेखबिखन र ओसारपसारका सम्बन्धमा पनि  जिज्ञासा राख्दै  विराटनगर महानगरको न्यायिक समितिले गरेका कामकारबाहीप्रति चासो राखेका थिए ।  राजदूत थोम्सनले खुला सिमानाका कारण महानगरवासीले भोग्नुपरेका समस्या, मानव बेखविखनका बारेमा पनि जानकारी लिएको प्रमुख कोइरालाका प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए । 

    भेटमा महानगरका प्रमुख कोइरालाले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको सुनाए। प्रमुख कोइरालाले केशलिया र सिंघिया खोलाका कारण विराटनगरमा डुबान समस्या रहेको जानकारी दिँदै  दुवै खोलामा तटबन्धन निर्माणपछि मात्रै विराटनगरको डुबान समस्या समाधान हुने उनको भनाइ छ ।

 'महानगरको सीमित स्रोतले डुबान समस्याको दीर्घकालीन समाधान गर्न गाह्रो छ । डुबानको अस्थायी समाधान गर्नेतर्फ लागेका छौँ', उनले भने, 'तर स्थायी समाधानका लागि ठूलो बजेट आवश्यक पर्छ । त्यसका लागि दातृ निकायसँग पहल गरिरहेका छौँ ।'

विराटनगर प्रदेशको स्वास्थ्य र शिक्षाको केन्द्र रहेको उहाँले सुनाउँदै यस प्रदेशमा पर्यटनको प्रचूर सम्भावना रहेको जानकारी दिए । उनले भने, 'प्रदेशको पर्यटन विकासका लागि प्रादेशिक विमानस्थल बनाउनु जरुरी छ । यहाँबाट माउन्टेन फ्लाइट गर्दा काठमाडौँबाट भन्दा सस्तो पर्छ ।'

 राजदूतावाससँगको सम्बन्ध प्रभावकारी बनाउन प्रमुख कोइरालाले महानगरका तर्फबाट सम्पर्क अधिकृत रत्नाकर झालाई तोकेको जानकारी गराउँदै दूतावासका तर्फबाट पनि तोकिदिन आग्रह गरे । 

  उपप्रमुख कार्कीले न्यायिक समितिले गरेका कामकारबाहीका बारेमा जानकारी गराउँदै न्यायिक समितिले गरेका काम र अनुभव सुनाए । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले विराटनगर महानगरको विकासका लागि चुनौती र अवसरका विषयमा जानकारी दिए ।