डुम्रे । व्यास नगरपालिका–१० दुम्सीस्थित शिशुवा भतेरी कृषि सहकारीले बाँझो जमिनको उपयोग गर्दै सामूहिक खेतीमार्फत विपन्न समुदायको आयस्तर बढाएको छ । मादी नदी किनार नजिकै शिशुवा भतेरीमा रहेको बाँझो जग्गामा सामूहिक खेती गरी आयआर्जनको वातावरण बनाएर उनीहरुको आर्थिक जीवनस्तर बढाउन सघाएको छ ।
सहकारीले विसं २०७४ देखि भाडामा लिएको भतेरीको जग्गामा सामूहिक खेती सुरु गरेपछि विपन्न वर्गलाई खेतीका लागि अधियाँ गर्न जमिन खोज्नुपर्ने बाध्यता हटेको छ । सहकारीले भाडामा लिएको जग्गामा स्थानीयवासीले मौसमअनुसार धान, मकै, आलुलगायतका खेती गर्दै आएको सहकारीका सचिव श्रीकृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार सहकारीले यहाँका अति सीमान्तकृत बोटे, अल्पसङ्ख्यक दरै, दलित तथा विपन्न वर्गको आयस्तर बढाउन सामूहिक खेती गरेका छन् ।
वडा कार्यालयले विपन्न वर्गको आयआर्जनसँग जोड्न र वृद्धि गराउने उद्देश्यले सार्वजनिक जग्गा १० वर्षको लागि निःशुल्करुपमा प्रयोग गर्न दिएपछि सामूहिक खेती थालिएको सहकारीका अध्यक्ष यज्ञप्रसाद शर्माले बताए । उक्त जग्गामा पाँच वर्षदेखि विपन्न वर्गले मौसमअनुसारको खेती गरिरहेका छन् ।
वडा कार्यालयले उनीहरुको आयआर्जनका लागि रु ७० हजारमा जमिन सम्माएर खेत बनाइदिएको छ । एक लाख लगानीमा सहकारीले पाँच वर्षदेखि विभिन्न प्रकारका खेती गर्दै आएको शर्माले बताए ।
सहकारीले राम्रो कार्य गरेकाले गत वर्ष सामूहिक खेतीका लागि सहज बनाउन करिब रु १७ लाखको ट्र्याक्टर व्यास नगरपालिकाले सहयोग गरेको उनले जानकारी दिए । कृषि क्रान्ति गर्न सामूहिक खेती गरिएको र क्षेत्रफल विस्तार गर्दै लैजाने योजना सहकारीले बनाएको छ ।
चरन क्षेत्रलाई जग्गा बनाएर स्थानीय उपभोक्तालाई उत्पादनसँग जोडी प्रयोगमा ल्याउने उद्देश्यले भेला राखेर सहकारीमार्फत खेती गरिएको निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए । 'बाँझो जमिनमा खेती गर्नु जमिनको पहुँच नहुने कृषकको लागि फलदायक भएको छ', सापकोटाले भने, 'सहकारीको सदस्य बनाउने र जसको जमिन छैन उसलाई समूह बनाएर जमिन उपभोग गरिएको छ, मेरो जग्गा छैन मैले काम गरी खान पनि पाइन भन्ने चिन्ता सहकारीले सामूहिक खेतीमार्फत हटाउन प्रतिबद्ध भएको छ ।'
यहाँका विपन्न वर्गले उत्पादन गरेका खाद्य वस्तु स्थानीय बजारमा नै खपत हुने गरेको छ । सहकारीमा सम्बद्ध भएका कृषकले आफूलाई बढी हुने भएपछि बिक्रीका लागि पठाउने र उनीहरुको आयस्तरमा वृद्धि हुँदै आएको सहकारीले जनाएको छ ।
घाँस र परालको उपभोग गौ संरक्षण केन्द्रमा
सहकारीमार्फत गरिएको सामूहिक खेतीबाट उत्पादित पराल र घाँस सोही ठाउँस्थित शिवालय गौ संरक्षण केन्द्रमा उपभोग हुँदै आएको छ । केन्द्रले गाईको मल तथा मूत्र खेतीमा उपयोग गर्न दिने र त्यसबाट उत्पादित घाँस र पराल गाईलाई उपलब्ध गराउने गरेको छ ।
'रासायनिक मल प्रयोग नगरी गौ संरक्षण केन्द्रमा रहेका गाईको मल र मूत्र प्रयोग गरिएकाले खेती राम्रोसँग फष्टाएको छ र रोग पनि लागेको छैन', अध्यक्ष शर्माले भने । निम्न आय भएका कृषकलाई सहकारीमा आबद्ध गराएर आयवृद्धि गर्न विभिन्न तरकारी, धान, माछा पोखरी सहकारीले निर्माण गरेको छ ।
माछाबाट वार्षिक रु दुई लाख आम्दानी
सोही जग्गाभित्र सहकारीले कृषक समूहको आय वृद्धि गर्न नौ वटा माछा पोखरी निर्माण गरेको छ । 'एक कृषक समूहलाई एक माछापोखरी पर्छ, उनीहरुले माछा पनि सामूहिक रुपमा नै पाल्छन्', सचिव आचार्यले भने, 'पोखरीबाट उत्पादित माछा उनीहरुले नै खाने तथा बिक्री गर्दछन् ।'
नौ वटा माछा पोखरीबाट वार्षिकरुपमा रु दुई लाखको माछा बिक्री गर्दै आएको सचिव आचार्यले बताउनुभयो । माछा स्थानीय बजारमा नै खपत हुन्छ । विपन्न समुदाय सहकारीमा आबद्ध भई सामूहिक खेती, गाईभैँसीको दूध बिक्री गर्ने गरेकाले मासिक रु १५ हजारदेखि रु ३० हजारसम्म आम्दानी गर्न थालेको उनले जानकारी दिए ।
सहकारीमा एक सय १० जना आबद्ध छन् । सहकारीले आफ्नो जमिन नभएका विपन्नको लागि भने सामूहिक खेतीमा आबद्ध गराएको छ । विपन्न मात्रै नभई कृषिमा आधुनिक औजारको प्रयोग गरी लागत घटाउन गाउँका सबैलाई सामूहिक खेतीमा आबद्ध गराइने सहकारीले जनाएको छ ।
सहकारीका अनुसार विपन्न समुदायले धान, आलु र मकै खेती गर्दै आएका छन् । खेती गरेपछि तरकारी किनेर ल्याउन नपरेको र पशुपालनतर्फ कृषकको आकर्षण बढेको सहकारीले जनाएको छ । हाल सहकारीले लिएको जग्गामा कृषकले आलु खेती गरेका छन् ।