close

आगामी वर्षकाे याेजनाका लागि सुझाव लिँदै पाेखरा सरकार

आगामी वर्षकाे याेजनाका लागि सुझाव लिँदै पाेखरा सरकार

Trulli
ADVERTISEMENT

कास्की । पाेखरा महानगरपालिका वडा नंम्बर १८ सराङकोटमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि योजना तर्जुमा सम्बन्धी सर्वपक्षीय छलफल सम्पन्न भएको छ । छलफलका क्रममा खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगार लगायतका सवालहरूमा योजनाहरू केन्द्रित गर्न स्थानीय सरोकारवालाहरूले सुझाव दिएका छन् । 


 महानगरपालिकाका प्रमुख धनराज आचार्यले योजनाहरू सिफारिस गर्दा आवश्यकता र प्राथमिकताका आधारमा गर्न सुझाव दिए । 'कतिपय योजनाहरू हचुवाका भरमा सिफारिस गर्ने र कार्यान्वयनमा समस्या हुँदा परिणाम शून्य हुने समस्यालाई दोहोर्‍याउन हुँदैन,' प्रमुख आचार्यले भने, 'अव हरेक वडाबाट आउने योजनाहरू सम्बन्धित वडाको आवश्यकता र प्राथमिकताका आधारमा छनौट र सिफारिस भई आउनु पर्दछ ।' स्थानीय विकासको दीर्घकालीन सोचलाई ध्यानमा राखी योजनाहरू निर्माण गर्ने बेला आएको प्रमुख आचार्यले बताए । 

महानगरपालिकाका सबै वडाहरूको समुचित र न्यायोचित विकासका लागि वर्तमान नेतृत्व तत्पर रहेको उनले विश्वास दिलाए । समृद्ध महानगर निर्माणका लागि नयाँ बन्ने योजनाहरू समेत परिणाममुखी बन्न आवश्यक रहेको उनले बताए । उनका अनुसार वडामा हुने योजना छनौटको प्रक्रियालाई सहभागितामूलक बनाई सबै नागरिकहरूको पहुँच स्थापित गर्ने उद्देश्यले वडा वडामा यस्तो प्रकारको कार्यक्रम गर्न लागिएको हो । 

वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरूले आफ्नो वडाका योजनाहरू तर्जुमा गर्दा स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा गर्ने बताएका छन् । तयारी बैठकमा सहभागी स्थानीय राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, बुद्धिजीवी लगायत स्थानीयहरूले नागरिकको आधारभूत आवश्यकता, भौतिक विकास, विपद् जोखिम न्यूनीकरण, पर्यटन विकास, कृषि, सामाजिक न्याय सहितको समतामूलक समाज निर्माणका लागि मानव संसाधनको विकास लगायतका विषयमा योजनाहरू तर्जुमा गर्नु पर्ने बताएका छन् ।