close

दलित वस्तीको घरघरमा खानेपानी

दलित वस्तीको घरघरमा खानेपानी

Trulli
ADVERTISEMENT

बैतडी - दोगडाकेदार गाउँपालिकाको वडा नम्बर ३ मा स्थानीय बासिन्दाकाे घरघरमा खानेपानी वितरण सुरु गरेको छ । गाउँपालिकाको वडा नम्बर ३ स्थित मल्लासैना दलित वस्तीमा खानेपानी वितरण सुरु गरेको हो । 

आर्थिक वर्ष  २०७७/०७८ देखि निर्माण सुरु भएको आयोजनामार्फत ४० घरधुरीमा खानेपानी वितरण सुरु भएको वडा नम्बर ३ का वडा अध्यक्ष कालुराम सार्कीले बताए । उनले ३३ लाख ९९ हजार ३५४ रुपैयाँमा सम्पन्न भएकाे आयोेजनामार्फत बुधबारदेखि खानेपानी वितरण सुरु भएको पालिकाखबरलाई जानकारी दिए । 

असार मसान्तमा नै आयोजना सम्पन्न भएको तर बुधबार गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यतामा उद्घाटन गरी खानेपानी वितरण सुरु गरेको उनले बताए । ‘असार मसान्तभित्र नै आयोजना सम्पन्न भएको थियो । आज गाउँपालिकाको अध्यक्षको उपस्थितिमा उद्घाटन  कार्यक्रम आयाेजना गरी खानेपानी वितरण गर्न थालेका हाैँ,’ उनले पालिकाखबरसँग भने । 

मूलबाट आएको पानीलाई प्रशोधन गरेर लिफ्टमार्फत पानी वितरण गरेको उनले सुनाए । ‘अति आवश्यक क्षेत्रको रुपमा सो वस्तीमा खानेपानी वितरण गरेका हौँ,’ उनले भने, ‘फेरी अन्य क्षेत्रमा पनि 'एक घर एक धारा' कार्यक्रममार्फत खानेपानी वितरण गर्ने छौँ ।’

उनले वडा नम्बर ३ को लेकथला, सल्लेरे, श्रीकोट बहुमुखी क्याम्पस र सानटान क्षेत्रमा खानेपानी वितरण गर्नको लागि चालू आर्थिक वर्षमा गाउँपालिकाबाट ३५ लाख रुपैयाँ बजेट विनियोजना भएको बताए । उनका अनुसार सो आयोजना 'एक घर एक धारा' कार्यक्रममार्फत सञ्चालन हुने छ । 

सो आयोजनामार्फत सो क्षेत्रका २०० घरधुरीमा खानेपानी वितरण हुने उनले बताए । बजेट अपुग भएमा आगामी वर्षमा या चालू आबबाटै आवश्यक बजेट व्यवस्थापन गरिने उनले सुनाए ।