close

एक पोका नुनको मुल्य ६० रुपैयाँ !

एक पोका नुनको मुल्य ६० रुपैयाँ !

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम - कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पा सँग जोडिएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा दशैँको मुखैमा खाद्यान्न अभाव भएको छ ।  जिल्लामा भएका खाद्य संस्थान तथा व्यापार कम्पनीहरुले सडक अवरुद्धका कारण समयमै ढुवानी नगर्दा खाद्यन्न अभाव भएकाे हो। 

व्यापार  कम्पनीमा खाद्यान्न मौज्दात  मात्रामा नहुँदा जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्वर १,२ र ३ मा  खाद्यान्नको अभाव सुरु भएको हो । जिल्ला सदरमुकामबाट झण्डै ६५ किलोमिटर रहेको आठबिसकोट नगरपालिकाको स्यालाखदीमा अनुदानमा पाइने नुनको मूल्य थामिनसक्नु भएको पाइएको छ । चामल, तोरीको तेल, सूर्यमुखी तेल, दाल , चिनि सबैको भाउ छोइनसक्नु भइसकेछ । चामल बोरामा एक हजार रुपैयाँ बढेको छ । १६ सय रुपैयाँ पर्ने मोटो चामल अहिले २५ देखि ३ हजारसम्म मुल्य पर्ने भएको छ । 

भर्खरै स्यालाखदीमा सडक पुगेको छ ।  त्यहाँ सडक पुगे पनि वर्षातका कारण यातायातका साधन चल्दैनन । यातायातको रूपमा रहेको गतिलो माध्यम घोडा, खच्चड भने निर्वाध चलिरहेका छन् । आठबिसकोट नगरपालिकाको राडीबजार, बाँफिकोट गाउँपालिकाको छिनखेत, नदुवा र जाजरकोटको तल्लुबगरबाट घोडा, खच्चड बाट सामान ढुवानी गर्नुपर्ने बाध्यता छ । 

अहिले त्यही खच्चडमा ल्याएको स्थानीय बजारमा पाइने खाद्यान्नदेखि आयोडिनयुक्त नुनको मूल्य छोइनसक्नु भएको स्थानीयवासी बताउँछन्  । खच्चड र घोडाबाट ढुवानी गरेको नुनको मूल्य स्यालाखदीमा  प्रतिकेजी रु ५०/६० रहेको पाइएको छ । सदरमुकाममा प्रतिकेजी रु १० मा पाइने आयोडिनयुक्त नुन स्यालाखदीमा रु ६० मा किनबेच भइरहेको छ । व्यापारीले खाने नुनको समेत  दुर्गममा चर्को मूल्यमा बिक्री गर्ने गरेका छन् । तेल प्रतिलिटर १५० रुपैयाँ र जिरा चामलको बोरालाई तीन हजार ५ सय रुपैयाँ पर्ने स्थानीय व्यापारी धन बहादुर बोहोराले बताए । 

घोडामार्फत सामान ढुवानी गर्नुपर्ने भएकोले महँगो पर्ने बोहोरा बताउँछन्। उनी भन्छन्, 'घोडा खच्चड बाट ढुवानी गर्दा प्रति क्विन्टल २ हजार रुपैयाँ र एक गाडी सामान ल्याउँदा २५ हजार रुपैयाँ भाडा तिर्नुपर्छ । १२ महिना सडक नबन्दा सम्म यहाँको मालसामान महँगो नै पर्न जान्छ ।'

यहाँको ग्रामीण बस्ती खेत, रोकाजा, डाँडागाउँ, पहाडा, स्याला र खदीमा केही दिनदेखि खाद्यान्न अभाव हुन थालेको छ। बर्खा सुरु भएपछि अवरुद्ध बनेका सडकका कारण यातायात नचल्दा ग्रामीण बस्तीमा खाद्यान्नको संकट देखिएको हो । वर्षायामको कारण बजारमा बिक्री गरिने खाद्यान्नको मूल्य महँगो भएको र सहुलियत दरमा बिक्री हुने खाद्यान्न नभएपछि ग्रामीण बस्तीका सर्वसाधारण मर्कामा छन् । 

दशैँ आउनै लाग्दा सडकका कारण आठबिसकोट नगरपालिकाका स्यालाखदीवासीलाई खाद्यान्न र अन्य किनमेलका लागि झन् समस्या भएको छ। बर्षात सुरु हुने वित्तिकै  सडक पूर्णरूपमा अवरुद्ध हुने गर्छन् । स्यालाखदी जाने आउने प्रमुख नाका नै अवरुद्ध हुँदा दशैँको मुखैमा आएर खाध्यान्नदेखि सम्पूर्ण मालसामानहरूको संकट पर्न थालेको स्थानीय धन बहादुर बोहोराले बताए।

लामो समयसम्म सडक सुचारु नहुँदा स्यालाखदीका स्थानीय  सास्ती जेल्न बाध्य भएका छन्। साथै माथिल्लो स्थानमा उत्पादन भएका स्याउ, आलु फापर निर्यात गर्न कठिनाइ भइरहेको बोहोराको भनाइ छ। राप्ति राजमार्ग अन्तर्गत पर्ने नदुवा खदी, पाटागाउँ सडक निर्माण भैरहेको र बर्षातको समयमा धेरै ठाउँमा ठूला ठूला पहिरो गएकाले  करिव ४ महिना सडक बन्द हुने गर्छन । यो समयका लागि यहाँका स्थानीयले खाद्यान्न मौजत राख्नुपर्ने बाध्यता छ । ढुवानी अभावले खाध्यान्न अभाव भएको र घोडा, खच्चडबाट ढुवानी गर्दा सामान समयमा नपुग्ने र पुगेका सामान पनि अति महँगो पर्ने स्थानीय ईतिहास परियारले बताए । 

दशैँको मुखमा दैनिक उपभोग्य बस्तुहरु महँगो हुँदा यहाँका स्थानीयलाई दशैँमा मारमा पर्ने चिन्ता बढेको छ । वडा नम्वर (३ मा होटल व्यवसाय सञ्चालन गर्दै आएकी मनकुमारी देवकोटा खाद्यान्न अभाव हुँदा होटलमा आउने पाहुँनालाई रोटी र गाउँघरमै फलाएको धानको खाना खुवाउन परेको बताउँछिन्। उनि भन्छिन,  राडीबजारमा १५ सय रुपैँया पर्ने सामान्य  मोटो चामलको बोरालाई खदीमा २५ सय रुपैँया पर्ने र त्यहि पनि पसलमा किन्न नपाईने जानकारी दिइन । उनका अनुसार घरमै उत्पादन भएको पाखामा लगाईएको धान भनेजति मात्रामा नपाउने हुँदा होटलमा आउने ग्राहकलाई समेत अप्ठ्यारो हुने गरेको उनको भनाई छ ।

रुकुममा छैन सहुलियत मुल्यको चामल र नुन  

रुकुम पश्चिमका उपभोक्ताले सहुलियत दरको चामल खान पाएका छैनन्। दुर्गम भेकमा रहेका यहाँका गाउँमा अझैपनि सहुलियत दरको सामान आउने गरेको छैन । 

नागरिकमा दशैं नजिकिँदै गर्दा चामल पु¥याउन सकिएन भने कसरी दशैँ मनाउने भन्ने चिन्ता छ । अहिले दैनिकरुपमा घोडा खच्चड बाट ढुवानी भैरहेको छ । वडा नम्वर ३ का वडाअध्यक्ष केशरमान विकले भने, सदरमुकामलगायत टाढा टाढाबाट पनि दशैंका लागि सहुलियत  दरमा खाद्यान्न ढुवानी गरेर दशैँसम्म उपभोग्य सामान गाउँमा पुर्याउन  खाद्य संस्थान रुकुम पश्चिम र नेपालगन्ज सँग समन्व भैरहेको बताए । उनले थपे, ’आवश्यकताअनुसार स्थानीयलाई पुर्याउन सकिएको छैन ।’

शाखा कार्यालयमा चामल पनि पर्याप्त नहुनु र डिपो केन्द्रहरु पनि रित्तिएलगत्तै आजभोलि यहाँका स्थानीयहरु बजारको चर्को मूल्यको चामल खान बाध्य भएका छन् ।

भौगोलिक विकटताका कारण यहाँका स्थानीय चाडपर्वमा सधैँ ठगिदै आएका छन । ब्यापारीले भाडाको बहानामा सामानको मुल्यवृद्धि गर्दा उपभोक्ता मारमा परेका हुन्। १० रुपैयाँमा पाईने  चाउचाउ, विस्कुट समेत २० रुपैयाँमा किन्नुपर्ने यहाँको बाध्यता छ ।