close

वडा कार्यालयकाे सीसीटीभी फुटाएर कन्ट्रोलर चोरी

वडा कार्यालयकाे सीसीटीभी फुटाएर कन्ट्रोलर चोरी

Trulli
ADVERTISEMENT

डडेलधुरा– परशुराम नगरपालिकाको वडा कार्यालयमा तोडफोड गरी चोरी भएको छ । वडा नं ४ को कार्यालयमा गएराती तोडफोड भएको हो । 

बिहान १० बजे वडा कार्यालय सहयोगी आउँदा वडा कार्यलयको ढोका खुल्ला भएको पाइएपछि आफूलाई खबर गरेको वडा अध्यक्ष विश्राम सिंह बोहराले बताए । बिहिबार बिहान आफू वडा कार्यालय परिसरमै रहेको र त्यसबेला सबै कुरा सामान्य रहेको उनले बताए । ‘वडा कार्यालयको कम्पाउण्ड बाहिर करिब ५० मिटर टाढा चिया पसल छ । चिया पसलमा बिहानदेखि चिया पिएर हामी ९ बजेतिर घर फर्किएका थियौँ । त्यसबेलासम्म वडा कार्यालय तोडफोड भएको थाहा थिएन । १० बजे कार्यालय सहयोगीको फोन आएपछि घटनाको बारेमा थाहा पायौँ,’ उनले भने । त्यसपछि प्रहरीलाई खबर गरेर घटनाको विवरण टिपोट गरेर गएको उनले बताए । 

वडाध्यक्ष बोहराको अनुसार कात्तिक महिनामा वडा कार्यालयमा संकलन भएको रकम चोरी भएको छ । उनले भने, ‘पहिले वडामा एकदेखि दुई लाखसम्म नगद हुन्थ्यो । दशैँ तिहारको कारणले गर्दा पनि यो समयमा कम रकम उठेको थियो ।’ कात्तिक १ गते यता वडा कार्यालयमा १४ हजार १७३ रुपैयाँ संकलन भएकोमा १ हजार ३७० कार्यालयमा खर्च भएको र बाँकी १३ हजार ८०३ रुपैयाँ पालिकाबाट चोरी भएको उनले बताए । 

उनले पालिकाखबरसँग भने, ‘कार्यालय पूरै तोडफोड भएको छ । सिसिटिभी क्यामेरा तोडफोड गरेर यसको कन्ट्रोलर चोरी भएको छ । दुईवटा दराज, टेबलका घर्राहरू तोडफोड भएको छ,’ घटनाको अवस्था हेर्दा चोरी गर्ने मनसायले नै वडा कार्यालयको तोडफोड भएको पाइएको वडाध्यक्ष बोहराले बताए । आफूहरु वडा कार्यालयको सरसफाइ गरिरहेको र सुक्ष्म तरिकाले हेर्दा अन्य थप सामाग्री चोरी भएको हुन सक्ने उनले बताए ।