close

भरतपुर भ्रमण वर्षको अवसरमा दियालो बङ्गला सर्वसाधारणको लागि खुला

भरतपुर भ्रमण वर्षको अवसरमा दियालो बङ्गला सर्वसाधारणको लागि खुला

Trulli
ADVERTISEMENT

चितवन- भरतपुर महानगरपालिकाको आग्रहपछि यहाँको दियालो बङ्गला सर्वसाधारणका लागि सन् २०२४ को प्रारम्भदेखि खुला गरिने भएको छ । 

नेपाल ट्रष्टको बुधबार बसेको ७८औँ सञ्चालक समितिको बैठकले दियालो बङ्गला सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको हो । सञ्चालक समितिका सदस्य देवीचन्द्र उपाध्यायका अनुसार यसको सञ्चालनका सम्बन्धमा अर्को बैठकमा निर्णय गरिँदै छ ।

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाउँदै छ । महानगरपालिकाको अनुरोधमा दियालो बङ्गला सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरिएको उनले जानकारी दिए । उनका अनुसार भरतपुर महानगरपालिकासँग सहकार्य गरेर सर्वसाधारणका लागि प्रवेशको व्यवस्था मिलाइने छ । जीर्ण रहेको संरचनाको मर्मतसम्हार र अत्यावश्यक थप संरचनासमेत निर्माण गरेर खुला गरिने उनको भनाइ छ ।

सञ्चालक सदस्य उपाध्याय भने, “भरतपुर भ्रमण वर्षमा सर्वसाधारणले दियालो बङ्गला हेर्न पाउँछन् ।” ट्रष्टको स्वामित्वमा रहेको दियालो बङ्गला तत्कालीन राजा महेन्द्रले निर्माण गरेका हुन् । तत्कालीन राजा महेन्द्रको निधन भएको दियालो बङ्गला ३५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । तत्कालीन राजपरिवार यही दरबारमा आएर बस्ने, नारायणी नदी किनार क्षेत्रमा घुम्ने गर्दथे । अहिले यस दरबार क्षेत्रमा नेपाल ट्रष्टका केही कर्मचारी व्यवस्थापनका लागि छन् भने सुरक्षा तथा संरक्षण नेपाली सेनाले गर्दै आएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षमा थप महत्त्वपूर्ण गन्तव्य दियालो बङ्गला दरबारलाई बनाइएको बताइन् । महानगरले लिखितरुपमा नेपाल ट्रष्टलाई आग्रह गरेपछि खुला गर्ने निर्णय गरिएको हो । नगरप्रमुख दाहालले नेपाल ट्रष्टसँग सहकार्य गरेर सर्वसाधारणका लागि दियालो बङ्गला खुला हुने बताइन् । उनले भनिन्, “भ्रमण वर्षलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेमा हामी लागिरहेका छौँ ।”

नेपाल ट्रष्ट प्रधानमन्त्री कार्यालयअन्तर्गत पर्दछ । महानगरले दियालो बङ्गलालाई खुला गर्न अधिकतम प्रयास गरेपछि ट्रष्टले निर्णय गरेको हो ।