close

७० वर्षभन्दा माथिका नागरिकलाई देउमाईकाे पाेसाक भत्ता

७० वर्षभन्दा माथिका नागरिकलाई देउमाईकाे पाेसाक भत्ता

Trulli
फाइल तस्विर
ADVERTISEMENT

इलाम - देउमाई नगरपालिकाले ज्येष्ठ नागरिकलाई समेत पोसाक भत्ता उपलब्ध गराउँदै आएको छ । नगरपालिकाले नगरभित्रका ७० वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई दुई हजार रुपैयाँका दरले पोसाक भत्ता उपलब्ध गराउँदै आएको हो ।

उनीहरुलाई नगरपालिकाले प्रत्येक पहिलो त्रैमासिकमै पोसाक भत्ता उपलब्ध गराउँदै आएको लेखा अधिकृत गजेन्द्र येक्तनले जानकारी दिए ।  

चालु आर्थिक वर्षमा नगरभित्र स्थायीरुपमा बसोबास गर्ने एक हजार सात सय ५४ ज्येष्ठ नागरिकले पोसाक भत्ता पाएका छन् । उनीहरुले यस वर्ष मात्र ३५ लाख आठ हजार रुपैयाँ पोसाक भत्ता प्राप्त गरेको उनले बताए । 

गएको आव २०७९/०८० मा एक हजार पाँच सय ७६ जना ज्येष्ठ नागरिकले ३१ लाख ५२ हजार रुपैयाँ पोसाक भत्ता लिएका थिए । ज्येष्ठ नागरिकले वर्षमा एकपटक न्यानो नयाँ लुगा लगाउन् भन्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको नगरप्रमुख सूर्य पोख्रेलले बताए ।

'शिक्षक, तथा सरकारी निकायका कर्मचारीलाई नेपाल सरकारले वर्षमा एकपटक पोसाक भत्ता दिन्छ, तर ज्येष्ठ नागरिकलाई दिँदैन', नगर प्रमुख पोख्रेलले भने, 'ज्येष्ठ नागरिकलाई पनि चाडबाडमा नयाँ लुगा लगाउन मन लाग्छ । यसर्थ वर्षमा एकपटक नयाँ न्यानो लुगा लगाउन् भनेर नगरले यस्तो कार्यक्रम सुरु गरेकोे हो ।' 

पोसाक भत्ता पाउनका लागि देउमाई नगरभित्र स्थायी बसोबास भएको ज्येष्ठ नागरिक हुनुपर्छ । नगरपालिकाले ज्येष्ठ नागरिकलाई पोसाकका लागि चालु आवमा रु ३६ लाख विनियोजन गरेको थियो । 

नगरपालिकाले दीर्घरोगीलाई औषधि खर्चवापत वार्षिक पाँच हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । गत वर्ष नगरपालिकाले ४० दीर्घरोगीलाई दुई लाख रुपैयाँ उपलब्ध गराएको थियो । चालु आवको पहिलो त्रैमासिकमा ११ दीर्घरोगीले ५५ हजार रुपैयाँ प्राप्त गरेको लेखा अधिकृत येक्तेनले जानकारी दिए ।