close

सतहको ढल र मंगाल सफा गर्दा महानगरले निकाल्याे ७९२ मेट्रिक टन माटो

सतहको ढल र मंगाल सफा गर्दा महानगरले निकाल्याे ७९२ मेट्रिक टन माटो

Trulli
ADVERTISEMENT

काठमाडौँ - सतहको पानी निकासका लागि सडक किनारमा बनाइएका ढल, मंगाल र नाली सफा गर्दा ७९२ मेट्रिक टन माटो निस्किएको छ । चालु आर्थिक बर्षबाट कार्यान्वयनमा आएको महानगर स्वर्णिम योजनाअन्तर्गत ‘डुवान समस्या समाधान’ कार्यक्रम कार्यान्वयन गर्दै विपद व्यवस्थापन विभागले सफा गरेकाे हाे । 

महानगरपालिकाले गत भदौ १० गतेदेखि दैनिक ७ जना जनशक्ति परिचालन गरेर ढल, साइड, नाला सफाइ गर्दै आएकाे छ। विपद व्यवस्थापन महाशाखाका प्रमुख एवं डुवान समस्या समाधान कार्यक्रमका फोकल पर्सन विष्णुप्रसाद जोशीका अनुसार, यस अवधिमा १ हजारभन्दा धेरै मंगाल खोलेर सफाइ गरिएको छ । तीमध्ये दरबारमार्ग र कुलेश्वर सडक खण्डमा मंगाल सफा गरिएका भेटिए । बाँकी सबैमा माटो भरिएको थियो ।    

अहिलेसम्ममा वडा ३२ को पेप्सीकोला आवास क्षेत्र र जडीवुटी, वडा नं. ३१ को मीनभवन पुलदेखि कोटेश्वर, कोटेश्वरदेखि बालकुमारी, बालकुमारीदेखि मनोहरा करिडोरको झोलुङ्गे पुलसम्म सफाइ गरिसकिएको छ । यसै गरी वडा नं. ३ को कान्ति बाल अस्पताल आसपास, वडा नं. ११ को ट्रली बस स्टप लाइन (त्रिपरेश्वर), वडा नं. २८ र ११ जोडिएको भृकुटीमण्डप, वडा नं. १ दरबार मार्ग सफाइ गरिसकिएको छ ।

वडा नं. १४ को कुलेश्वर बल्खु क्षेत्र, वडा नं. १३ को सोल्टीमोडदेखि कालीमाटी पुलसम्म सफाइ भइसकेको छ । वडा नं. १४ को कलंकी चोकदेखि नयाँ बसपार्कतर्फको सडक खण्डमा बुधबार काम भयो ।