close

स्थानीयले मुख्यमन्त्रीलाई भने, ‘हात्तीको आतंकबाट आजित छौँ’

स्थानीयले मुख्यमन्त्रीलाई भने, ‘हात्तीको आतंकबाट आजित छौँ’

Trulli
ADVERTISEMENT

झापा - बुद्धशान्ति गाउँपालिका -५ खारखोलाका स्थानीयले बाली र जीवन बीमाको लागि  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको ध्यानाकर्षण गराएका छन् । 

मेचीनगर- १ प्रसादे गौडाबाट हात्तीमैत्री पदयात्रा सुरु गरेका मुख्यमन्त्री कार्की बुधबार खारखोला आइपुग्दा उनीहरुले हात्तीको कारण बाली, घर र जीवन जोखिममा रहेको भन्दै सके व्यवस्थापन नसके बीमा गरिदिन आग्रह गरेका हुन् । 

नाङ्लो ठट्याएर हात्ती भगाउने उखान खारखोलाबासीको लागि उखानमै सीमित भएको छ । आजकल स्थानीयको धपाउने शैली हात्तीले टेर्ने छोडेपछि स्थानीय थप त्रसित छन् । 

गाउँपालिकाका वडाध्यक्ष डेगेन्द्र कार्कीका अनुसार गाउँपालिकामा पछिल्लो समय हात्तीको आतंक बढेकाले स्थानीयले सो माग गरेका हुन् । हात्तीलाई धपाउन तथा क्षतिबाट जोगाउनका लागि वडाबासी तथा आफूहरुले सो माग गरेको उनले पालिकाखबरलाई सुनाए । उनले भने, ‘हात्ती क्षतिलाई व्यवस्थित गर्नुपर्यो । हात्ती छिर्ने नाकाको व्यवस्थापन गर्न माग गरेका छौँ ।’

उनका अनुसार हात्तीले पछिल्लो समय बुद्धशान्तिमा ठूलो जनधनको क्षति भएको छ । क्षतिबाट जोगाउनका लागि आवश्यक व्यवस्थापन गर्न अनुरोध गरेको उनले सुनाए । हात्तीबाटै केही समयअघि मात्रै स्थानीय बासिन्दा कमला रिमाल घाइते भएको उनको भनाइ छ । 

‘उनको उपचारपश्चात् बिल बुझाए पनि हालसम्म भुक्तानी हुन सकेको छैन । उनको भुक्तानीको लागि पनि हामीले माग गरेका छौँ,’ उनले भने ।

गाउँपालिकालाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्नको लागि पनि मुख्यमन्त्री कार्कीसँग माग गरेको उनले सुनाए । ‘वनको क्षेत्रमा पर्यटनको सम्भावना पर्याप्त भएकोल बजेट माग गरेका छौँ,’ उनले भने ।

आफूहरुले गरेको मागमा मुख्यमन्त्रीले सकारात्मक जवाफ दिएको उनको भनाइ छ । मुख्यमन्त्री कार्की निर्वाचित भएसँगै पहिलो पटक सो क्षेत्रमा पुगेको उनले सुनाए । पदयात्रा सकिएलगतै उनी फर्किएको वडाध्यक्ष कार्कीको भनाइ छ ।