close

मार्तडी-कोल्टी सडकमा यात्रुलाई यो सास्ती

मार्तडी-कोल्टी सडकमा यात्रुलाई यो सास्ती

Trulli
ADVERTISEMENT

बाजुरा । बाजुरा जिल्लाको मार्तडी-कोल्टी सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । उक्त सडक खण्डको सालीमेलामा पहिरो खसेको छ । साउन ३ गते आएको अविरल वर्षापछि पहिरो खस्दा यो सडक अवरुद्ध बनेको हो ।

मार्तडी बजार नजिकै बाउली खोला र रजावतोली नजिकै रहेको रजातोली खोलाको पानीको बाहाव बढेपछि सवारीसाधन ठाउँ-ठाउँमा रोखिएका छन् । मार्तडी-कोल्टी सडक खण्ड अन्तर्गत विभिन्न स्थानमा सवारी साधन सञ्चालनमा निकै समस्या भएको चालकहरु बताउँछन् ।

कोल्टीबाट मार्तडीसम्म पुग्न तीन ठाउँमा जीप चढ्नुपर्ने स्थानीयको बाध्यता छ । पहिरोको जोखिमका बीच कतिपय यात्रु पैदलै कोल्टीबाट मार्तडी र मार्तडीबाट कोल्टी पुग्ने गरेका छन् ।

पहिरो हटाउने र यातायात सहज रुपमा सुचारु गराउने विषयमा सम्बन्धित निकायले पहल नगरेको स्थानीयको गुनासो छ । गाडी निर्वाध रुपमा सञ्चालन गर्न नपाएपछि चालकहरु पनि समस्यामा परेका छन् । मासिक किस्ता तिर्न गाह्रो भएको चालक शैलेन्द्र खड्काले बताए ।

सडक अवरुद्ध हुँदा बाजुराको पूर्वी उत्तरी भेगमा रहेका चार स्थानीय तह लगायत हुम्ला र मुगु जिल्लाका स्थानीयलाई आवत-जावतमा निकै कठिनाइ भएको छ ।

सडक अवरुद्ध हुँदा महँगी बढेको कोल्टीका व्यवसायी काशीराम थापाले सुनाए ।