close

सुदूरपश्चिममा बाढीपहिरोबाट तीन महिनामा ४१ जनाको मृत्यु

सुदूरपश्चिममा बाढीपहिरोबाट तीन महिनामा ४१ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

धनगढी । सुदूरपश्चिम प्रदेशमा मनसुन सक्रिय भएको तीन महिनामा विपद्का कारणले ४१ जनाको मृत्यु भएको छ ।

मनसुन सक्रिय भएयता विपद्जन्य (बाढी, पहिरो तथा डुबान)मा परी ४१ जनाको मृत्यु भएको र ११ जना बेपत्ता भएको सुदूरपश्चिम प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्यांकमा उल्लेख छ ।

सामान्यतः नेपालमा मनसुन जुन १३ मा सक्रिय भई सेप्टेम्बर २३ मा निष्क्रिय हुन्छ । मनसुन सक्रिय भएयता प्रदेशका नौ जिल्लामध्ये बाढी, पहिरो तथा डुबानका कारण कैलाली, कञ्चनपुर, अछाम र दार्चुला जिल्ला बढी प्रभावित भएका छन् ।

उक्त अवधिमा सबैभन्दा मानवीय क्षति अछाममा भएको छ भने कैलालीमा धेरै परिवार प्रभावित बनेका छन् ।

बिहीबार रातिदेखि परेको वर्षाका कारण बाढी तथा पहिरोमा परी अछाममा २२ र कैलालीमा एक गरी २३ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। योसँगै शनिबारसम्म प्रदेशमा विपद्का विभिन्न ५० ठाउँमा मृत्यु हुनेको संख्या ४१ पुगेको हो ।

प्रदेशमा बर्सेनि विपत‍्बाट भौतिक तथा मानवीय क्षति हुने क्रम बढेको छ । प्रदेशको तराई क्षेत्रमा बाढी तथा डुबान र पहाडी क्षेत्रमा पहिरो तथा प्रदेशका नौ वटै जिल्लामा चट्याङ, हावाहुरी, आगलागीलगायतका विपद् र वन्यजन्तु आक्रमणबाट पनि अन्न बाली तथा मानवीय क्षति हुँदै आएको छ ।

प्रदेश आपत्तकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार मनसुन सुरु भएयता शुक्रबारसम्म प्रदेशका ४७ ठाउँमा बाढीपहिरो र डुबानबाट १८ जनाको मृत्यु भएको थियो भने २६ जना घाइते भएका थिए । ४७ स्थानमा एक सय चार घरपरिवार प्रभावित भएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

दार्चुलामा पहिरो तथा बाढीमा परी ६ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । तीन महिनामा विपद्का विभिन्न घटनामा दार्चुलामा १२ जना घाइते भएका छन् ।

यस्तै विपद्जन्य घटनाबाट मानवीय क्षति भएका जिल्लामध्ये कञ्चनपुर तेस्रोमा छ । कञ्चनपुरमा विपद्का कारण चार जनाको मृत्यु र दुई जना घाइते भएको प्रदेश आपत्तकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकमा उल्लेख छ ।

आर्थिक वर्ष २०७८र७९ मा प्रदेशमा १ सय १३ विपद्जन्य घटनामा परी ५० जनाको मृत्यु, २३ जना बेपत्ता र ५३ जना घाइते भएका थिए। सो आर्थिक वर्षमा सबैभन्दा बढी मानवीय घटना डोटीमा भएको थियो। डोटीमा पहिरोमा परी १८ जनाको मृत्यु भएको थियो।

कैलालीमा एकको मृत्यु, दुई घाइते

कैलालीको धनगढीमा झलारी नालीमा बगेर शनिबार एक युवतीको मृत्यु भयो। बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण नालीमा बगेर १९ वर्षीय नवीना चौधरीको मृत्यु भएको कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

मृतक युवती धनगढी उपमहानगरपालिका वडा नम्बर–१३ की हुन् । उनी माछा मार्ने क्रममा नालामा बगेर बेपत्ता भएकी थिइन्  प्रहरीले खोजी कार्य गर्दै जाँदा उनलाई मृत अवस्थामा फेला पारेको हो ।

टिकापुर नगरपालिका वडा नं. २ मा घर भत्किँदा २२ वर्षीय युवक सुशील चौधरी घाइते भएका छन् । चौधरीलाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ ।

यस्तै चुरे गाउँपालिका वडा नम्बर ३ मा पहिरो खस्दा घरमा रहेका आठ वर्षीय आयुश सापकोटा घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कैलालीको पूर्वी क्षेत्रका पाँच पालिकामा डुबानका कारण कैयौं परिवार विस्थापित भएका छन् ।

जोशीपुर गाउँपालिकामा करिब चार सय, कैलारी गाउँपालिकामा एक सय ८०, टिकापुर नगरपालिकामा एक सय ७५, भजनीमा करिब ६ सय ८०, लम्कीचुहामा एक सय ५० घर डुबानमा परेका छन् ।

अछाममा २२ को मृत्यु, एक बेपत्ता

अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको बाढी तथा पहिरोमा मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका २२जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दीपेश रिजालले जानकारी दिए ।

२२ जनाको शव भेटिँदा एक जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । पहिरोमा परेर ११ जना घाइते छन् । पहिरोमा परी घाइते भएका ढकारी गाउँपालिका–६ ढुंगाचाल्नाका ३ जना घाइतेको हेलिकप्टरमार्फत् उद्धार गरेर सुर्खेत लगिएको छ ।