close

विनयी त्रिवेणी डुबानमा, दुई सय हेक्टर धान बाली नष्ट

विनयी त्रिवेणी डुबानमा, दुई सय हेक्टर धान बाली नष्ट

Trulli
ADVERTISEMENT

काठमाडौं । पूर्वीनवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ को बगुवनमा नारायणी नदीमा आएको बाढीले ७० घर डुबानमा परेका छन् ।

मध्यवर्ती क्षेत्रका कारण गाउँपालिकाको सडक सञ्जालबाट जोडिन नसकेको वडा-१ को बगुवन चारैतिरबाट नारायणी नदीको भेलले घेरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले जानकारी दिए । 

अहिले पनि डुबान क्षेत्रका मानिसहरु आफ्नै घरमा रहेका र उनीहरुलाई उद्धार गर्न नसकिएको अध्यक्ष गिरीले बताए ।

‘पशुचौपाया र घरका सामानसहित बगुवनका स्थानीय  डुबान क्षेत्रको उच्च भागमा बसेका छन्, उद्धारका लागि पुग्न सक्ने स्थिति छैन,’ उनले भने । मध्यवर्ती क्षेत्र र निकुञ्जका कारणले बाटो विस्तार हुन नसक्दा यो समस्या बर्सेनि आउने गरेको जनाइएको छ  ।

‘मानिसहरु बाढीकै बीचमा छन्, जान सकिएको छैन, बाढी कति बेला घट्छ भन्ने  छौँ’, अध्यक्ष गिरीले भने । 

लगातार आएको बाढीले सोही क्षेत्रमा काट्ने बेलाको दुइ सय हेक्टर धान बालीसमेत पूर्ण रुपमा क्षति भएको जनाइएको छ । उनका अनुसार दुई सय हेक्टरको पाकेको धान पूर्ण रुपमा नष्ट भएको छ ।

नारायणी नदीमा यस वर्षकै उच्च बाढी आएका कारण जिल्लाको नदी तटीय क्षेत्रको जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ । गण्डक बाँधमा अहिलेसम्मकै उच्च चार लाख ४० हजार पानीको बहाव मापन गरिएको जिल्लाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए । 

बिहान ८ बजेपछि पानीको बहाव स्थिर देखिएको उनले बताए । 

नारायणीमा आएको बाढीका कारण बिहीबार गैँडाकोट नगरपालिका–२ का ८० घरलाई सुरक्षित स्थानमा सारिएको छ भने मध्यविन्दु नगरपालिकाको सेहेरी, भुताह, प्रसौनीलगायत गाउँमा करिब तीन दर्जनभन्दा बढी घरहरु डुबानमा परेका छन् । डुबानमा परेकाहरुको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र जनप्रतिनिधिसहितको टोली खटिएको प्रहरीले जनाएको छ ।