close

बैतडीमा दुई घर र एक विद्यालय पहिरोको जोखिममा

बैतडीमा दुई घर र एक विद्यालय पहिरोको जोखिममा

Trulli
ADVERTISEMENT

बैतडी । वर्षाका कारण दुई घर र विद्यालय भवन पहिराको जोखिममा परेका छन् ।  जिल्लाको श्रीभावर–हाट सडकखण्डमा पहिरो खस्दा पुर्चौंडी नगरपालिका ६ भटेडीका मानवीर धानुकका दुई घर पहिरोको जोखिममा परेका हुन् । 
पहिरोले घरको आँगनमा क्षति पुर्‍याएको र   पानी पर्ने क्रम जारी रहेकाले थप क्षति बढ्नसक्ने भएको छ ।  जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट जोखिमयुक्त क्षेत्रको निरीक्षण गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, पुर्चौंडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमलगायतका सरोकारवाला निकायका प्रतिनिधिहरुले सो ठाउँमा पुगेर पीडित परिवारलाई सहयोग गर्ने बताएका छन् ।

अनुगमनका क्रममा जोखिममा रहेका परिवारलाई अस्थायी बसोबासका लागि नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराउने, उक्त घरमा थप क्षति हुन नदिन पूर्वाधार विकास कार्यालयका तर्फबाट पर्खाल निर्माण गर्ने र क्षतिको विवरण सङ्कलन गरी आवश्यक सहयोगका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिश गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । 

यस्तै दशरथचन्द नगरपालिका १ स्थित जगदम्बा आधारभूत विद्यालय पनिपहिरोको उच्च जोखिममा परेको छ । लगातारको बर्षाका कारण विद्यालयको आँगन जोगाउन लगाइएको पर्खाल भत्किएको छ । करिब ३० मिटर लामो पर्खाल भत्केर भीर बनेको विद्यालयका शिक्षक अम्बादत्त बडुले बताए ।