close

मकवानपुरका स्थानीय तहको बेरुजु झन्डै डेढ अर्ब, हेटौँडाले गठन गर्‍यो फर्छ्यौट उपसमिति

मकवानपुरका स्थानीय तहको बेरुजु झन्डै डेढ अर्ब, हेटौँडाले गठन गर्‍यो फर्छ्यौट उपसमिति

Trulli
ADVERTISEMENT

मकवानपुर । मकवानपुर जिल्लामा सबैभन्दा बढी बेरुजु भएको हेटौँडा उपमहानगरपालिकाले बेरुजु फर्छ्यौटका लागि उपसमिति नै गठन गरेको छ। हेटौँडाको १८ नम्बर वडाका वडाध्यक्ष अनिलकुमार बानियाँको संयोजकत्वमा गठित यो उपसमितिले आगामी दसैँ अगाडि नै बैठक तथा छलफल राखेर असुल उपर र नपुगेका कागजात मगाउने, प्रक्रिया नपुगेकोलाई नियमन गराउने लगायतका काम सुरु गर्ने उपमहानगरले जनाएको छ।

मकवानपुर जिल्लाका स्थानीय तहहरूको बेरुजु १ अर्ब ३६ करोड ४२ लाख ५४ हजार पुगेको छ। महालेखा परीक्षणको कार्यालयको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/०७९ मा नै बेरुजु करिब ६६ करोड ९३ लाख १३ हजार रुपैयाँ थपिएको छ। लेखा परीक्षणको प्रतिवेदन अनुसार सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकामा ३७ करोड ५२ लाख ४१ हजार रुपैयाँ र सबैभन्दा कम राकसिराङ गाउँपालिकामा ६ करोड ४१ लाख ८७ हजार रुपैयाँ बेरुजु देखिएको छ। यस्तै असुल गर्नुपर्ने बेरुजु १८ करोड ९८ लाख ८६ हजार रहेको छ। जसमा सबैभन्दा बढी मनहरी गाउँपालिकाले असुल गर्नुपर्ने ९ करोड ४० लाख ४५ हजार बेरुजु देखिएको छ भने सबै भन्दा कम असुल गर्नुपर्ने बागमती गाउँपालिकाको ६ लाख २५ हजार देखिएको छ।

बागमती प्रदेशको एकमात्र उपमहानगरपालिका हेटौँडा उपमहानगरपालिकाको बेरुजु रकम १५ करोड ७६ लाख ५४ हजार रुपैयाँ रहेको छ। योमध्ये प्रक्रियाबाट ५ लाख ८४ हजार फर्छ्यौट भई १५ करोड ७० लाख ७० हजार बाँकी रहेको छ। बाँकी बेरुजु मध्ये असुल गर्नुपर्ने ९७ लाख ५३ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने २ करोड १७ लाख ५७ हजार, नियमित गर्नुपर्ने १ करोड ९० लाख २७ हजार र पेश्की १० करोड ६५ लाख ३३ हजार रहेको छ। उपमहानगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ सम्म ३१ करोड ४० लाख ८५ हजार बेरुजु बाँकी रहेकोमा समायोजन र सम्परीक्षणबाट फर्छ्यौट भई आर्थिक वर्ष २०७८/०७९ मा कायम भएको बेरुजु समेत हालसम्मको अद्यावधिक बेरुजु ३७ करोड ५२ लाख ४१ हजार रहेको छ।

हेटौँडाका कार्यकारी अधिकृत शिवराज चौलागाइँले आर्थिक वर्ष २०७७/०७८ सालको भन्दा बेरुजु कम भएको बताउनुभयो। सकेसम्म बेरुजु नरहने गरी काम गर्ने योजना भएपनि अधिकांश कागजात नमिलेका कारण बेरुजु देखिएको उहाँले बताउनुभयो। गत आर्थिक वर्ष भन्दा २ करोड रुपैयाँ भन्दा बढिले हाल बेरुजुमा कमी आएको पनि चौलागाइँको भनाई छ। आधिकांश बेरुजु कागजात नमिलेका कारणले नै हुने गरेको छ। पेश्की बेरुजु अलि बढी देखिएको उपमहानगरपालिकाका लेखा अधिकृत ज्याकप श्रेष्ठले जानकारी दिनुभयो। समिति गठन गरिसकिएकोले बेरुजु घट्ने उपमहानगरपालिकाले विश्वास लिएको छ।

कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/०७८ मा महालेखा परीक्षकको लेखापरीक्षणबाट इन्द्रसरोवर गाउँपालिकामा ३ करोड ५५ लाख १६ हजार बेरुजु देखिएको छ। सो मध्ये असुल गर्नुपर्ने ९६ लाख ७० हजार, प्रमाण कागजात पेश गर्नुपर्ने १ करोड ९० लाख ५९ हजार, नियमित गर्नुपर्ने ६५ लाख ८७ हजार र पेश्की २ लाख रुपैयाँ रहेको छ। पालिकाको आर्थिक वर्ष २०७७/०७८ सम्मको  २ करोड ९३ लाख ६६ हजार बेरुजु बाँकी रहेकोमा आर्थिक वर्ष २०७८/०७९ मा कायम भएको बेरुजु समेत गरी ६ करोड ४८ लाख ८२ हजार रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ।

यस्तै मकवानपुरको विकट कैलाश गाउँ पालिकामा ४ करोड ६९ लाख ९४ हजार बेरुजु देखिएको छ। त्यसमा असुल गर्नुपर्ने १ करोड ८० लाख ३५ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने २ करोड २९ लाख ८१ हजार, नियमित गर्नुपर्ने ४९ लाख ५७ हजार र पेश्की  १० लाख २० हजार रहेको छ। पालिकाको आर्थिक वर्ष २०७७/०७८ सम्मको ५ करोड ७२ लाख ३८ हजार बेरुजु बाँकी रहेकोमा हाल ७ लाख २८ हजार फर्छ्यौट र आर्थिक वर्ष २०७८/०७९ मा कायम भएको बेरुजु समेत अद्यावधिक बेरुजु  १० करोड ३५ लाख ४ हजार रहेको छ।

यस्तै थाहा नगरपालिकाको ६ करोड २५ लाख २५ हजार रुपैयाँ बेरुजु देखिएको छ। जसमा असुल गर्नुपर्ने नै ३ करोड २३ लाख ९ हजार रुपैयाँ, प्रमाण कागजात पेस गर्नुपर्ने ६५ लाख २२ हजार, नियमित गर्नुपर्ने २८ लाख ४ हजार र पेश्की २ करोड ८ लाख ९० हजार रहेको प्रतिवेदनले देखाएको छ। यो नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ सम्मको ९० लाख ६ हजार बेरुजु बाँकी रहेकोमा यसवर्ष सम्परीक्षणबाट फर्छ्यौट १ लाख ६२ हजार र आर्थिक वर्ष २०७८/०७९ सम्मको अद्यावधिक बेरुजु ७ करोड १३ लाख ६९ हजार रुपैयाँ रहेको छ।

मकवानपुरको अर्को स्थानीय तह बकैया गाउँपालिकाको करोड ५३ लाख २८ हजार बेरुजु देखिएको छ। सो मध्ये प्रक्रियाबाट ६० हजार बेरुजु फर्छ्यौट भई १ करोड ४२ लाख ६८ हजार बाँकी रहेको छ भने बाँकी बेरुजु मध्ये असुल गर्नुपर्ने १८ लाख रुपैयाँ, प्रमाण कागजात पेस गर्नुपर्ने ८१ लाख २० हजार, नियमित गर्नुपर्ने ५३ लाख ४९ हजार रहेको छ। पालिकाको आर्थिक वर्ष २०७७/०७८ सम्मको बेरुजु १० करोड १७ लाख ६८ हजार बेरुजु बाँकी रहेकोमा आर्थिक वर्ष २०७८/०७९ मा कायम भएको बेरुजु समेत गरी अद्यावधिक बेरुजु १० करोड ९१ लाख ४२ हजार रहेको छ।

मकवानपुरको पूर्वी गाउँपालिका बाग्मती गाउँपालिकामा २ करोड ८३ लाख ६५ हजार बेरुजु देखिएको छ। बेरुजु मध्ये असुल गर्नुपर्ने ६ लाख २५ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने २ करोड २३ लाख ७६ हजार, नियमित गर्नुपर्ने ५१ लाख १५ हजार र पेश्की २ लाख ४९ हजार रहेको छ। पालिकाको  आर्थिक वर्ष २०७७/०७८ सम्मको १० करोड १७ लाख ६८ हजार बेरुजु बाँकी रहेकोमा यसवर्ष समायोजन र सम्परीक्षणबाट फर्छ्यौट भई आर्थिक वर्ष २०७८/०७९ सम्मको अद्यावधिक बेरुजु ७ करोड ४३ लाख ४४ हजार रहेको छ।

यस्तै मकवानपुरको पुरानो सदरमुकाम रहेको भीमफेदी गाउँपालिकामा ४ करोड ६० लाख ६१ हजार बेरुजु देखिएको छ। सो मध्ये असुल गर्नुपर्ने १४ लाख ५१ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने ४२ लाख २७ हजार, नियमित गर्नुपर्ने ३ करोड ७७ लाख ९४ हजार र पेश्की  २५ लाख ८९ हजार रुपैयाँ रहेको छ। पालिकाको आर्थिक वर्ष २०७७/०७८ सम्मको ३ करोड ८२ लाख २४ हजार बेरुजु बाँकी रहेकोमा सम्परीक्षणबाट २ लाख २१ हजार फर्छ्यौट भई आर्थिक वर्ष २०७८/०७९ सम्मको बेरुजु ८ करोड ४० लाख ६४ हजार रहेको छ।

मकवानपुरको ऐतिहासिकसँग जोडेर नामाकरण गरेको मकवानपुरगढी गाउँपालिकाको बेरुजु  ६ करोड ४४ लाख ९६ हजार रुपैयाँ देखिएको छ। जस मध्ये प्रक्रियाबाट कुनैपनि बेरुजु फर्छ्यौट नभएकोले ६ करोड ४४ लाख ९६ हजार बाँकी रहेको देखिएको महालेखा कार्यालयको प्रतिवेदनमा उल्लेख छ। बाँकी बेरुजु मध्ये असुल गर्नुपर्ने २ करोड १४ लाख १६ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने २६ लाख ६२ हजार, नियमित गर्नुपर्ने १ करोड ७ लाख ४ हजार र पेश्की  २ करोड ९७ लाख १४ हजार रहेको छ। पालिकाको आर्थिक वर्ष २०७७/०७८ सम्म ४ करोड ८७ लाख ३१ हजार बेरुजु बाँकी रहेको थियो। समायोजन र सम्परीक्षणबाट फर्छ्यौट भएपछि आर्थिक वर्ष २०७८/०७९ सालसम्मको  अद्यावधिक बेरुजु ११ करोड ३२ लाख २७ हजार रहेको छ।

आर्थिक वर्ष २०७८/०७९ मनहरी गाउँपालिकामा १६ करोड ३६ लाख ९६ हजार बेरुजु देखिएको छ। महालेखा कार्यालयको प्रतिवेदन अनुसार असुल गर्नुपर्ने ९ करोड ४० लाख ४५ हजार देखिएको छ। यस्तै प्रमाण कागजात पेस गर्नुपर्ने २ करोड २९ लाख ३२ हजार नियमित गर्नुपर्ने ३ करोड ८१ लाख ५ हजार र म्याद नाघेको पेश्की ८६ लाख १५ हजार रहेको छ। पालिकाको २०७७/०७८ सम्ममा १९ करोड ४२ लाख ८१ हजार रुपैयाँ बेरुजु बाँकी रहेकोमा सम्परीक्षणबाट फर्छ्यौट भई आर्थिक वर्ष २०७८/०७९ मा कायम भएको बेरुजु सहित अद्यावधिक बेरुजु ३० करोड ४२ लाख ९४ हजार रहेको छ।

यसैगरी मकवानपुरको विकट मध्ये पर्ने अर्को राकसिराङ गाउँपालिकामा ४ करोड ८६ लाख ७८ हजार बेरुजु देखिएको छ। गाउँपालिकामा असुल गर्नुपर्ने ७ लाख ८२ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ४ करोड ७ लाख ६३ हजार, नियमित गर्नुपर्ने ५७ लाख ६९ हजार र म्याद नाघेको पेश्की १३ लाख ६४ हजार रहेको छ। पालिकाको आर्थिक वर्ष २०७७/०७८ सम्म ४ करोड ३ लाख ३० हजार बेरुजु बाँकी रहेकोमा सम्परीक्षणबाट फर्छ्यौट भएर आर्थिक वर्ष २०७८/०७९ मा कायम भएको बेरुजु समेत गरी अद्यावधिक बेरुजु ६ करोड ४१ लाख ८७ हजार रहेको छ।

प्रमाण र कागज अनुसार भुक्तानी गरेको भएपनि प्रक्रिया नमिल्दा बेरुजु देखिने गरेको राकसिराङ गाउँपालिकाका कार्यकारी अधिकृत देवचन्द्र गड्तौलाले बताउनुभयो। भुक्तानी लिने पक्षले कानुन मिचेर वा खर्चको औचित्यमा प्रश्न उठ्यो भने बेरुजु देखिने बताउनुभयो। तलब, भत्तालगायतमा बेरुजु देखियो भने सम्बन्धित व्यक्तिबाट तलब भत्ता भुक्तानी हुने समयमा असुल उपर हुने उहाँको भनाई छ।

मकवानपुरका सबै पालिकाहरूमा लेखापरीक्षणले स्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको, असुली लक्ष्यअनुसार नभएको, कर्मचारीको दरबन्दी अनुसार पदपूर्ति नभएका कारण विकास निर्माण सेवा प्रवाहमा प्रभावकारिता नभएको, अनुदानको पर्याप्त अनुगमन नभएको, वितरणमुखी कार्यक्रम सञ्चालन गरेको, आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको लगायतका व्यहोरा औँल्याइएको छ। पालिकाहरूले पेश्की बाहेक सम्पत्ति तथा दायित्व यकिन हुने कुनै जानकारी पनि नखुलाएको पनि प्रतिवेदनमा देखाइएको छ।