close

डियर काजीमान ! पदअनुसारको मर्यादामा कहिलेदेखि बस्ने ?

डियर काजीमान ! पदअनुसारको मर्यादामा कहिलेदेखि बस्ने ?

Trulli
ADVERTISEMENT

इलाम– माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबे आफ्नै गाउँपालिकाभित्रको भाइरल भिडियोका कारण तनावमा छन् । अझ भाइरल ज्वरोको उपचारमा अस्पताल पुगेका थेबेलाई उक्त भिडियोले ज्वरोको मात्रा १०२ डिग्री पुर्याएको छ । अस्पतालबाटै भाइरल भिडियो थाहा पाएपछि पालिकाकै नाममाथि दाग लागेको भन्दै छटपटी सुरु भएको हो ।  

मंगलबार सामाजिक सञ्जालमा माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र गाउँपालिकाकी लेखा अधिकृतले गाउँपालिकाकै कार्यकक्षमा अनैतिक क्रियाकलाप गरिरहेको भिडियो सार्वजनिक भएको थियो । प्रमुख प्रशासकीय अधिकृत र महिला कर्मचारीबीचको उक्त क्रियाकलाप भइरहेको दृश्य सिसिटिभीमा कैद भएको थियो । सोही दृश्यले हाल सामाजिक सञ्जाल तताइरहेको छ । 

प्रमुख प्रशासकीय अधिकृत राईको यो पहिलो घटना भने होइन । यसअघि २०७६ साल बैसाखमा किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा विवादमा तानिएका थिए । इलामकै चुलाचुली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहँदा चिया, नास्ता पुर्‍याउन आउने किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । सो घटनामा तत्कालीन गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले उनलाई माफी माग्न लगाएर छाडिदिएका थिए ।

गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले कारबाही गर्नको साटो माफीमात्रै मगाएर छुटकारा गरेको भन्दै स्थानीय बासी आन्दोलित भएका थिए । आन्दोलन नियन्त्रण गर्नकै लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसमेत परिचालन गर्नु परेको थियो । 

गाउँपालिकाका कर्मचारीहरूले कार्यालयभित्रै गरेका हर्कतले गाउँपालिकाको प्रतिष्ठामाथि गम्भीर आँच परेको माईजोगमाई गाउँपालिका अध्यक्ष थेबे बताउँछन् । गाउँपालिकासँग कर्मचारीलाई कारबाही गर्ने कानुनी अधिकार नभएको बताउँदै गाउँपालिका अध्यक्षले भने, ‘हामी कार्यपालिका बैठकमा छलफल गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई थप कारबाही गर्न सिफारिस गर्नेछौं ।’ उनका अनुसार निजामती कर्मचारी ऐन र त्यसले आकर्षित गर्ने अन्य ऐनअनुसार घटनामा सम्बन्धित व्यक्तिहरूलाई कारबाही हुन्छ । 

प्रमुख प्रशासकीय अधिकृत राई माघ १८ देखि माईजोगमाई गाउँपालिकामा कार्यभार सम्हालेका थिए । उनको साउन २४ गते नै सरुवा भइसकेको गाउँपालिका अध्यक्ष थेबेले जानकारी दिए । हाल माइजोगमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छ । पालिकाखबरसँगको टेलिफोन संवादमा गाउँपालिका अध्यक्ष थेबेले बिहीबार गाउँ कार्यालिका बैठक बोलाइएको हुँदा बैठकको निर्णयानुसार अघि बढ्ने बताए ।