close

जड्याहालाई १५ दिन ढुङ्गा बोकाउने निर्णय असफल : मदिरा बेच्न लाइसेन्स अनिवार्य

जड्याहालाई १५ दिन ढुङ्गा बोकाउने निर्णय असफल : मदिरा बेच्न लाइसेन्स अनिवार्य

Trulli
ADVERTISEMENT

डोटी– के.आई.सिंह गाउँपालिका–७ को जुवाडे र जड्याहालाई १५ दिन ढुङ्गा बोकाउने सजाय असफल भएको छ । स्थानीय तहको जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि वडाले मदिरा सेवन नियन्त्रणको लागि उक्त निर्णय ल्याएकफ थियो । तर निर्णय कार्यान्वयनमा धेरै कठिनाइ आएको वडाध्यक्ष दिल बहादुर बलायरले पालिकाखबरसँग बताए । 

‘ब्ल्याकमा मदिरा बेच्नेहरु झनै धेरै हुन थाले । २७ रुपैयाँमा पाइने मदिरालाई १०० रुपैयाँसम्म बेच्न थाले,’ उनले भने ।  मदिरा सेवनमा नियन्त्रण आउनुको सट्टामा मदिरा पिउने झनै मर्कामा परेको उनले बताए । 

गत वर्ष वडाले जुवा तास खेल्न र मदिरा खान प्रतिबन्ध गर्दै सो कार्य गरेमा सार्वजनिक स्थानमा १५ दिन र मदिरा बेच्नेलाई ३० दिन ढुङ्गा बोकाउने निर्णय गरेको थियो । नगद कारबाही गर्दा राजस्व संकलन भए पनि मदिरा सेवनमा नियन्त्रण नभएको भन्दै ढुङ्गा बोकाउँदा समाजिक कार्यमा टेवा पुग्ने र गल्ती गर्नेहरू लज्जित भएर यस्ता कार्य न्यूनीकरण हुने विश्वास वडा सरकारले लिएको थियो । 

वडाले मदिरामा प्रतिबन्ध गरेपछि पहिलोपटक मदिरा सेवन गरेको भेटिएका स्थानीयलाई सम्झाइबुझाइ गरेर छाडिदिएको वडाध्यक्ष बलायरले बताए । सार्वजनिक स्थानमा ढुङ्गाा बोकाउने कामले मदिरा नियन्त्रणको काममा झनै दुरुत्साहन पुर्‍याउने अवस्था भएको उनले बताए । 

मदिरा नियन्त्रणको गर्ने उदेश्यले के.आई.सिंह गाउँपालिकाले नै पालिकाभरि मदिरा बिक्रीका लागि लाइसेन्स अनिवार्य गर्ने निर्णय गरेको वडाध्यक्ष बलायरले जानकारी दिए । यसको लागि गाउँपालिकाले कार्यविधिसमेत तयार गरिसकेको छ । ‘यही महिनाभित्र गाउँपालिकाले मदिरा बेच्नेहरुलाई लाइसेन्स वितरण गर्दै छ,’ उनले भने । 

कार्यविधिले मदिरा पसल खोल्ने समय निर्धारण गर्ने उनको भनाइ छ । साथै, खाद्यान्न तथा अन्य सामान बेच्ने पसलमा मदिरा बिक्री गर्न नपाइने उनले जानकारी दिए ।