close

संघको नियन्त्रणमा रहेका कतिपय व्यवस्थामा परिवर्तनको खाँचो छ :  अध्यक्ष चौधरी (भिडियो कुराकानी)

संघको नियन्त्रणमा रहेका कतिपय व्यवस्थामा परिवर्तनको खाँचो छ :  अध्यक्ष चौधरी (भिडियो कुराकानी)

ADVERTISEMENT

कैलाली । जोशीपुर गाउँपालिका सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली जिल्लाको संघीय निर्वाचन क्षेत्र नं १ मा पर्छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरीले अध्यक्षमा जित हासिल गरेका छन् ।

तराई-मधेस-थरुहट आन्दोलनलाई हिंसात्मक बनाएको आरोपमा कारावासमा रहेका प्रतिनिधि सभाका निलम्बित सदस्य रेसम चौधरीले गठन गरेको नागरिक उन्मुक्ति पार्टीलाई सुदूरपश्चिममा इज्जतिलो उपस्थिति जनाउन चौधरीको जितले पनि महत्त्वपूर्ण सहयोग गरेको छ ।  

जोशीपुर गाउँपालिकामा साबिकका जोशीपुर र बौनिया  गरी २ ओटा गाउँ विकास समितिलाई मिलाएर ७ वटा वडा कायम गरिएको छ । कैलाली जिल्लाको दक्षिण भागमा अवस्थित यो गाउँपालिकाको पूर्वमा लम्कीचुहा, टीकापुर नगरपालिका र जानकी गाउँपालिका रहेका छन् ।

पश्चिममा घोडाघोडी र भजनी नगरपालिका छन् । यसैगरी उत्तरमा बर्दगोरिया गाउँपालिका तथा दक्षिणमा भजनी नगरपालिकासँग यो गाउँपालिकाको सीमा जोडिएको छ । कुल क्षेत्रफल ६५.५७ वर्ग किमी रहेको यो गाउँपालिका धनगढीदेखि १०० किमीको दुरीमा रहेको छ ।

विभिन्न अन्न तथा धानबाली उत्पादनमा कैलाली जिल्लाको स्थान अग्रस्थानमा छ । त्यसमाथि कैलाली जिल्लामा पनि जोशीपुर गाउँपालिका कृषि उत्पादनमा अग्र स्थानमा छ ।

समुद्र सतहबाट १४८ मिटरदेखि अधिकतम १६२ मिटरसम्म उचाइमा रहेको यो गाउँपालिकाको आधा जस्तो भू -भाग वन क्षेत्र तथा बुट्यानले भरिएको छ । यो गाउँपालिकाको मुख्य बासिन्दामा थारु ,क्षेत्री ,ब्राह्मण तथा दलित छन् ।

अन्य स्थानीय तहका अध्यक्ष झैँ जोशी गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीको योजना पनि समृद्ध गाउँ बनाउने नै छ । त्यसका लागि स्थानीय जीवनस्तर उकास्न शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने योजना उनको छ ।

कृषि उत्पादनका आधारमा अग्रस्थानमा रहेका जोशीपुरलाई पनि संघीय सरकारको पकडमा रहेको मल वितरण प्रणालीले दुख दिएको छ । अध्यक्ष चौधरी स्थानीय तहले नै मल व्यवस्थापन गर्न पाउनु पर्ने कानुनी व्यवस्थाको पक्षमा छन् ।

साथै उनी विज्ञहरूको सहयोगमा किसानहरूलाई वैज्ञानिक कृषिको तालिम दिने पनि बताउँछन् ।

प्रस्तुत छ, पालिका खबर सहकर्मी जनकराज पण्डितले जोशी गाउँपालिकाका प्रमुख चित्रबहादुर चौधरीसँग गरेको कुराकानीको सम्पादित अंश ।