close

हामी गैरसरकारी संस्थासँग हातेमालो गर्न तयार छौँ : उपप्रमुख बर्मा (भिडियो कुराकानी)

हामी गैरसरकारी संस्थासँग हातेमालो गर्न तयार छौँ : उपप्रमुख बर्मा (भिडियो कुराकानी)

ADVERTISEMENT

प्यूठान । दुई दशकभन्दा लामो पत्रकारिता पेसा त्यागेर राजनीतिमा लागेका देवेन्द्र बर्मा अहिले प्यूठानको प्यूठान नगरपालिकाको उपप्रमुख छन् । गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित बर्माले सक्रिय पत्रकारिता गर्दा यहाँका बस्ती–बस्ती र नगरको प्रमुख समस्यालाई नजिकबाट बुझ्ने मौका पाएका छन् । 

प्यूठान नगरपालिकाले आर्थिक बर्ष २०७९–८० का लागि ८६ करोड रुपैयाँ हाराहारीको बजेट ल्याएको छ । तर प्यूठान नगरपालिकाको आन्तरिक आम्दानीको श्रोत न्यून रहेको हुँदा आन्तरिक आम्दानी ३ करोड मात्रै उठ्ने प्रक्षेपण गरिएको छ । 

पालिकाखबरसँगको कुराकानीमा उपप्रमुख बर्माले एउटा रमाइलो विषय पनि उठान गरे । ‘उपप्रमुख गैरसरकारी संघसंस्थाहरुको पनि नगरपालिकामा संयोजक हुन्छ के कति संघसंस्थाहरु तपाईँको पालिकामा काम गरिरहेका छन्?’ भनेर जिज्ञासा राख्दा, उपप्रमुख बर्माले भने, ‘शून्य!’ 

अहिलेसम्म प्यूठान नगरपालिकासँग सहकार्य गर्न कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाले चासो नदेखाएको जवाफ उनको थियो । साथै उनले गैरसरकारी संघसंस्थासँग हातेमालो गर्न आफूहरू तयार रहेको समेत बताए । 

नयाँ जनप्रतिनिधि निर्वाचित भएपछि नगरपालिकाले त्यहाँको समृद्धिका लागि विभिन्न योजनाहरू अघि सारेको छ । शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमार्फत समृद्ध प्यूठानको परिकल्पना गरेका उपप्रमुख बर्मा भ्रष्टाचारमुक्त र सुशासनयुक्त नगर बनाउन कटिबद्ध समेत छन् । त्यसका लागि आफूले कसैसँग सम्झौता नगर्ने दाबी उनको छ । जनतालाई नजिकको सरकारको प्रत्याभूति दिलाउन उनीहरूका आधारभूत आवश्यकताहरू पूरा गर्ने पहिलो कर्तव्य र दायित्व जनप्रतिनिधिको रहेको बर्माको बुझाई छ । 

उनले नगरपालिकाले महिला, दलित,अपाङ्ग, अल्पसंख्यक र द्धन्द पीडितका लागि व्यवसाय दर्ता गर्दा ५० प्रतिसत छुटको व्यवस्था गरेको बताए । त्यसैगरी यसअघि नै कृषिमा दिइएका अनुदानको सही सदुपयोग हुन नसकेको गुनासो आएकाले प्यूठान नगरपालिकाले अब व्यवसाय र व्यवसायीलाई भन्दा पनि उत्पादनमा अनुदान दिने रणनीति अवलम्बन गरेको छ । 

हरेक बालबालिकालाई विद्यालयसम्म सहज पहुँच पुर्‍याउन नगरपालिकाले भर्ना नै निःशुल्क गरिदिएको छ । यसलाई अभियानकै रुपमा अगाडी बढाइएको बर्माले बताए । सबैलाई स्वास्थ्य, शिक्षा, शुद्ध पिउने पानी जस्ता आधारभूत आवश्यकताहरू सहज रुपमा उपलब्ध गराउन नगरपालिकाले नीति तथा कार्यक्रममै सम्बोधन गरेको छ । 

प्यूठान नगरपालिकाको छेवैमा बगी रहेको झिम्रुक नदीले कटान गरेर कृषियोग्य जमिनलाई खण्डहर बनाइ रहेको सन्दर्भमा नगरपालिकाले निकै महत्वका साथ रोकथामको उपाय अवलम्बन गर्ने भएको छ । नगरपालिकाले १२ किलोमिटर दायाँ र १२ किलोमिटर बायाँ नदीमा तटबन्ध बनाएर कटान रोक्ने तथा तटबन्ध माथि ग्रिनरोड निर्माण गर्ने योजना पनि अघि सारेको छ ।

प्रस्तुत छ, प्यूठान नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्मासँग पालिकाखबरका लागि जनकराज पण्डितले गरेको कुराकानीको सम्पादित अंश।