close

तारकेश्वरमा निःशुल्क रगत, झापामा कर्मचारी माग

तारकेश्वरमा निःशुल्क रगत, झापामा कर्मचारी माग

Trulli
ADVERTISEMENT

करार सेवामा कर्मचारी माग

झापाको झापा गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । पालिकाले बिहिबार एक सूचना जारी गर्दै करार सेवामा कृषि स्नातक पदमा एक जना कर्मचारी माग गरेको हो । 

योग्यता पुगको इच्छुक व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

तारकेश्वरमा निःशुल्क रगत वितरण हुने

काठमाडौँको तारकेश्वर नगरपालिकाले निःशुल्क रगत वितरण गर्ने भएको छ । नगरपालिकाले नेपाल रेडक्रम सोसाइटीको सहयोगमा स्थानीय बासिन्दालाई निःशुल्क रुपमा रगत वितरण गर्न लागेको हो । 

नगरवासीलाई उपचारको क्रममा आवश्यक पर्ने रगत तथा रक्ततत्व केन्द्रीय रक्तसञ्चार सेवा कालीमाटीबाट निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको हो ।

रगत लिनका लागि सम्बन्धित विरामीको नाममा अस्पतालबाट रगत मागको पुर्जी र तारकेश्वरको स्थानीय हो भन्ने प्रमाणित गर्ने प्रतिलिपि आवश्यक पर्ने नगरपालिकाले जनाएको छ  ।

वडावडामा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै  मिक्लाजुङ

मोरङको मिक्लाजुङ गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरण गर्ने भएको छ ।  भौगोलिक विकटताका कारण वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता लिन एक दिन हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्न पालिकाले वडाबाटै सेवा उपलब्ध गराउन लागेको हो

मिक्लाजुङ–१ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका दुई सय ५० नागरिकलाई वडा कार्यालयबाटै भत्ता लिने व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष बबीकुमार राईले जानकारी दिए ।   

वडामै भत्ता वितरण गर्न पाउँदा निर्वाचनताका स्थानीयसँग गरेको एउटा वाचा पूरा भएको वडाध्यक्ष पर्वत राईले बताए । 

गढवाले भूमिहिन सुकुम्बासीको जग्गा नापजाँच प्रक्रिया सुरु गर्ने

दाङको गढवा गाउँपालिकाले  जग्गा नापजाँचको प्रक्रिया अगाडी बढाउने भएको छ । भूमिहिन सुकुम्वासीलाई जग्गा वितरण गर्नको लागि नगरपालिकाले जग्गा नापजाँचको कार्य सुरु गर्न लागेको हो । 

भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई निस्सा वितरण गरिसकेकाले अब नापजाँचको कार्य सुरु गर्ने पालिकाले जनाएको छ । पालिकामा रहेका ३ सय २१ भूमिहिन दलित, ११ सय भूमिहिन सुकुम्बासी र ६ हजार बढी अव्यवस्थित बसोबासी गरी ७ हजार ७ सय ५५ जनाको तथ्याङक स्पष्ट भइसकेकोले अब नापजाँचको कार्य अगाडी बढाउने तयारी भएको गढवा गाउँपालिका अध्यक्ष यम नारायण पोखरेलले जानकारी गराए ।

महिलाको लागि नौकुण्डमा सीप विकास तालिम

रसुवाको नौकुण्ड गाउँपालिकाले महिला लक्षित कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप डल्लो साबुन, झोल साबुन, हार्पिक, फिनेल बनाउने सीप विकास तालिम सञ्चालन गर्न लागेको जनाएको छ। 

सो कार्यक्रममा सहभागी हुनका लागि सूचना प्रकासित भएको पन्ध्र दिनभित्र आवश्यक कागजात सहित आवेदन दिनु पर्ने गाउँपालिकाले जनाएको छ । 

महानगरले हटायो ९ हजार अनधिकृत साइन बोर्ड

काठमाडौं महानगरपालिकाले अहिलेसम्म ९ हजार अनधिकृत साइन बोर्ड हटाएको छ । मापदण्ड रहेका तर शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका वोर्ड तथा परिचय पाटी हटाएको हो ।

गएको असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै महानगरले ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो । सूचनामा मापदण्डमा आउन सक्ने बोर्डलाई दायरामा ल्याउन र मापदण्डभित्र नपर्ने बोर्ड आफैँ व्यवस्थापन गर्न व्यवसायीलाई अनुरोध गरिएको थियो । 

तोकिएको समय सकिएपछि कार्तिक २७ गतेबाट महानगरपालिकाले अनधिकृत बोर्ड तथा पाटी आफैले हटाउन थालेको हो। यससँगै भित्तेलेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टर हटाउने महानगरपालिकाले जनाएको छ। 

दशरथचन्दमा महिला टी–२० क्रिकेट

शहीद दिवसको पूर्वसन्ध्यामा बैतडीको दशरथचन्द नगरपालिकामा सञ्चालित  नगरस्तरीय महिला टि–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरू भएको छ ।

मङ्गलबारदेखि परेको वर्षाले मङ्गलबार र बुधबारका चारवटा खेल अवरुद्ध भएका थिए । अवरुद्ध खेल आजदेखि खेलाउन थालिएको प्रतियोगिता संयोजक वीरसिंह बोहराले जानकारी दिए। आज दशरथचन्द नगरपालिका–२ देहिमाडौँ र दनपा–५ दशरथ चन्द तथा दनपा–१० बाराकोट र दनपा–११ नागार्जुन भिड्दै छन् ।

दशरथचन्द नगरपालिकाको वार्षिकी कार्यक्रम र नगर खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो । नगरका सात टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले रु २५ हजार तथा  उपविजेताले रु १५ हजार प्राप्त गर्ने छन्।