close

सिँचाइको विद्युत महसुल गाउँपालिकाले तिर्ने, प्रथम मेयर रनिङ शिल्ड प्रतियोगिता सम्पन्न (भिडियाेसहित)

सिँचाइको विद्युत महसुल गाउँपालिकाले तिर्ने, प्रथम मेयर रनिङ शिल्ड प्रतियोगिता सम्पन्न (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

नागरिकलाई वडाबाटै सेवा

पाल्पाको निस्दी गाउँपालिकाले वडा तहबाटै सेवा सुरु गरेको छ । पालिकाको सातवटै वडामा अहिले एकीकृत घुम्ती सेवा सञ्चालन गरी गाउँपालिकाबाट प्रदान हुने सेवा प्रवाह भइरहेको छ । 

पालिकाले वडा वडामा पुगेर सबै प्रकारका सेवा दिने गरेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए। कार्यालयको सेवासँगै नागरिकका गुनासा र सुझाव सम्बोधन गर्दै सहजरुपमा सेवा दिइरहेको छ । शिविरबाट गाउँपालिकाले योजना सम्झौता, योजना फरफारक, आयोजना सम्बन्धित अभिमुखीकरण, ज्येष्ठ नागरिक सम्मान, गरिब घरपरिवार तथा अपाङ्गता परिचयपत्र वितरण, व्यवसाय दर्ता, औषधि वितरण, स्वास्थ्य परामर्शलगायतका सेवा प्रदान गरिरहेको छ ।

सिँचाइको विद्युत महसुल गाउँपालिकाले तिर्ने

रुपन्देहीको कोटहीमाई गाउँपालिकाले  कृषि मिटर जडान गरी विद्युतको महसुल तिरिदिने निर्णय गरेको छ । सिँचाइ समस्या समाधानका लागी सो निर्णय गरेको पालिकाले जनाएको छ। 

एउटामात्र मुख्य मिटर जडान गरी सिँचाइ प्रयोजनका लागि प्रयोग हुने सम्पूर्ण विद्युत् महसुल गाउँपालिकाले बेहोर्ने प्रतिबद्धतासहित विद्युतीय पूर्वाधार निर्माण गर्न नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रसँग गाउँपालिकाले माग गरेको छ । कृषि क्षेत्र वृद्धि, विस्तार र सुधार ल्याउन तथा किसानलाई सिँचाइमा सहजीकरणका लागि लाग्ने सम्पूर्ण विद्युतीय महसुल गाउँपालिकाले नै तिर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले बताए। 

गैँडाकोटले पाँचवटा ऐन ल्याउँदै

नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकाले हिउँदे नगरसभामार्फत विभिन्न पाँच वटा ऐन ल्याउँदैछ । आगामी माघ १७ गते सञ्चालन हुने चालु आर्थिक वर्ष २०७९र८० को हिउँदे नगरसभामा पाँच वटा ऐन पेश गर्ने बताइएको छ ।  

नगरसभामा नगरप्रमुख नगरप्रमुख मदनभक्त अधिकारीले गैँडाकोट नगरपालिकाको नगर खेलकुद विकास ऐन २०७९, नगर प्रहरी ऐन २०७९, सहकारी ऐन २०७९, नगर प्रज्ञा प्रतिष्ठान ऐन २०७९ तथा जलस्रोत विकास ऐन २०७९ पेश गर्ने कार्यसूची रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले जानकारी दिएका छन्। 

बागमती नगरपालिकाका एक वडा सदस्यले गरे पार्टी परिवर्तन

सर्लाहीको बागमती नगरपालिकाका एक वडा सदस्यले पार्टी परिवर्तन गरेका छन्। 

पालिकाको वडा नं ९ बाट नेपाली कांग्रेसबाट निर्वाचित भएका वडा सदस्य मुनिलाल महतो नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। परिवारका सदस्य, समाज नै माओवादीमा सक्रिय भएकाले माओवादीमा प्रवेश गरेको वडा सदस्य महतोले बताए।

विसं २०४९ साल देखी नेपाली कांग्रेसबाट राजनीति सक्रिय राजनीतिमा रहेका उनले शनिबार पार्टी परिवर्तन गरेका हुन्। उनलाई नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा र मधेश प्रदेश सदस्य जहवार कुस्वाले माला र खादा लगाएर पार्टी प्रवेश गराएका छन्। 

बुढानीलकण्ठमा खानेपानी समस्या समाधान गरिने

काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले नगर क्षेत्रको खानेपानीको समस्यालाई छिटोभन्दा छिटो समाधान गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। 

बुढानीलकण्ठ नगरपालिका–११ मा रहेको बगलामुखी मन्दिर परिसरमा आयोजित बगलामुखी हाइट समाज उपभोक्ता समितिको तेस्रो वार्षिक साधारणसभामा नगर प्रमुख अधिकारीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले समेत नगर क्षेत्रमा पानी वितरणका लागि पाइप विछ्याइरहेको जानकारी दिएका छन्। 

सिद्ध कुमाखको १२ औँ गाउँसभा सम्पन्न

सल्यानको सिद्ध कुमाख गाउँसभाको  १२ औं अधिवेशन सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी १२ औँ अधिवेशन सम्पन्न भएको हो । 

गाउँपालिकाको अनुसार गाउँसभाले आव २०७९र८० को बार्षिक वजेट तथा कार्यक्रममा समावेश भएको मध्ये १ करोड ४ लाख बराबरको बजेट संशोधन गरेको छ । साथै अर्थ सम्वन्धिको प्रस्तावलाई कार्यान्वयन गर्न वनेको आर्थिक ऐन, २०७९ को संशोधन गरेको छ । 
गाउँसभाबाट उपभोक्ता समितिको १० प्रतिशत जनश्रमदान कायम र सिद्ध कुमाख गाउँपालिकाको वृहत खानेपानी आयोजनाको विषयमा निर्णय गरेको जनाइएको छ।

प्रथम मेयर रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

काठमाडौँको तारकेश्वर नगरपालिकामा प्रथम मेयर रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा माघ १२ गतेदेखि १४ गतेसम्म प्रतियोगिता सञ्चालन गरिएको हो । 

नगरपालिकाको अनुसार प्रतियोगितामा हिम रश्मी हाई स्कूल प्रथम भएको छ। विद्यालयले एक लाख रुपैँया तथा स्वर्ण पदक पुरस्कार हासिल गरेको छ । 

प्रतियोगितामा ३४ वटा विद्यालयका करिब २००० विद्यार्थीहरुको सहभागीता रहेको नगरपालिकाले बताएको छ । उक्त प्रतियोगितामा फुटबल, भलिबल, मार्सालाट, एथलेटिक्स, कबडि खेलका ६४ विधामा विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए।