close

बारबर्दियामा घुम्ती शिक्षक 

बारबर्दियामा घुम्ती शिक्षक 

Trulli
ADVERTISEMENT

बर्दिया - जिल्लाको बारबर्दिया नगरपालिकाले शिक्षण सिकाइको नौलो अभ्यास सुरु गरेको छ ।  बारबर्दियाले वैकल्पिक माध्यमबाट शिक्षण सिकाइका लागि गृह तथा घुम्ती शिक्षकको सहयोगबाट विद्यार्थीहरूलाई घरमै पठनपाठन गर्न सक्ने वातावरण सिर्जना गरेको छ । 

 

यसका लागि परियोजना कार्य तथा प्रश्नहरूको सँगालो तयार गरिएको छ ।  परियोजना कार्य तथा प्रश्नहरूको सँगालो विद्यार्थीको घरघरमा पुर्याइएको छ । पहिलो चरणमा करिब २५ प्रतिशत पाठ्यभार समेटिने गरी परियोजना कार्य विद्यार्थीसमक्ष पुर्याइएको छ । यो परियोजना कार्यको समयावधि ५० दिनको छ । पालिकाले यो वैकल्पिक शिक्षण विधि साउन ४ देखि लागू गरेको हो । 

 

परियोजना कार्यमा पाठ्यपुस्तकसँग सम्बन्धित प्रश्नहरू समावेश गरिएको छ । विद्यार्थीहरूले घरमै बसी आपूmसँग भएको पाठ्यपुस्तक अध्ययन गरी प्रश्नहरूको उत्तर लेख्ने गर्छन् । विद्यार्थीहरूलाई सिकाइ सहजीकरण गर्न शिक्षकहरू उनीहरूकै घरमा पुग्छन् । शिक्षकलाई पायक पर्ने टोलमा घुम्ती शिक्षक खटिने गरेका छन् ।

 

सातामा कम्तीमा तीन पटक शिक्षकहरू विद्यार्थीको घरमा पुगेर उनीहरूले गरेको परियोजना कार्य जाँच्ने गर्छन् । भौतिक दूरी कायम गरी विद्यार्थीलाई पाठ्यपुस्तकका विषयवस्तु पनि सिकाउने गरिएको छ ।

 

विद्यार्थीका अभिभावकलाई गृह शिक्षकको रुपमा राखिएको छ । अभिभावको प्रत्यक्ष सहयोगमा विद्यार्थीहरूले घरमै पढ्ने गर्छन् । साताको शुक्रबार शिक्षकहरूले विद्यालयमा भेला भएर शिक्षक सिकाइका सहजता र जटिलताबारे आपसमा छलफल गरी थप योजना बनाउने गर्छन् । परियोजना कार्यमा हरेक विषय समेटेर ५० दिनका लागि छुट्टाछुट्टै प्रश्नावली तयार गरिएको छ । 

 

विद्यार्थीले प्रश्न गरेनगरेको शिक्षक घरमै पुगेर जाँच गर्छन् । विद्यार्थीले पढे÷नपढेको जाँच गर्न प्रश्नको अन्तिममा अभिभावक, गृह शिक्षक र घुम्ती शिक्षकको हस्ताक्षर राखिएको छ ।

शिक्षक नै घरघरमा आउन थालेपछि विद्यार्थीको पढाइमा चासो र सक्रियता बढेको बारबर्दिया नगरपालिका शिक्षा शाखा अधिकृत टीकानाथ गोसाईं सुनाउँछन् । उनी भन्छन्, ‘विद्यार्थीहरूले घरमै शिक्षण सामग्री पाएका छन् । सहजीकरणका लागि शिक्षक घरघरमै जान थालेका छन् । यसले गर्दा विद्यार्थीको पढाइमा सक्रियता बढेको छ ।’

 

शिक्षण सिकाइको यो वैकल्पिक उपाय  प्रभावकारी बन्दै गएको शिक्षा शाखा अधिकृत गोसाईं बताउँछन् । विद्यार्थीले गरेको परियोजना कार्यलाई नै उनीहरूको मूल्यांकनको आधार मानिने गोसाईंको भनाइ छ ।  

 

पालिकामा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूलाई वैकल्पिक विधिबाट शिक्षण सिकाइ सुरु गरिएको हो । बालविकासदेखि कक्षा ३ सम्मका बालबालिकाका लागि पनि छुट्टै पाठ्यवस्तु तयार गरी उनीहरूको घरमा पुर्याइएको छ ।

 

विद्यालय बन्द हुँदा लामो समयदेखि पढाइबाट वञ्चित भएका विद्यार्थीहरू घरमै बसेर पढन पाउँदा अभिभावक खुसी भएको स्थानीय पे्रमलाल शर्माले बताए । उनले भने, ‘विद्यार्थीको समय खेर गइरहेको थियो । यस्तो बेला वैकल्पिक शिक्षण विधिले विद्यार्थी र अभिभावक दुवैलाई उत्साहित बनाएको छ ।’

 

पालिकाले सञ्चालन गरेको वैकल्पिक शिक्षण विधि प्रभावकारी देखिएको अंशुवर्मा माविका प्रधानाध्यापक पोमराज शर्माले बताए । पहिलो चरणको ५० दिने परियोजना कार्य आसोजमा सकिने र त्यसलगत्तै दोस्रो चरणको योजना सुरु गरिने बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारुले जानकारी दिए । 

 

बारबर्दिया नगरपालिकामा माध्यमिक र आधारभूत गरी ४२ सामुदायिक विद्यालय छन् । यी विद्यालयमा करिब १५ हजार विद्यार्थी अध्ययनरत छन् ।