close

रघुुगंगाले दिन थाल्यो वडाबाटै सुविधा

रघुुगंगाले दिन थाल्यो वडाबाटै सुविधा

Trulli
ADVERTISEMENT

म्याग्दी– जिल्लाको रघुगंगा गाउँपालिकाले केन्द्रबाट हुने सेवा प्रवाह वडा स्तरबाट सुरु गरेको छ । पालिकाले भौगोलिक रुपमा दुर्गम र विकट क्षेत्रका नागरिककको सहजताका लागि वडामै पुगेर सेवा दिन थालेको हो ।

जनप्रतिनिधि र कर्मचारीको टोली वडामै पुगेर योजना सम्झौता, ज्येष्ठ नागरिक, अपांग परिचयपत्र, व्यवसाय दर्ता र सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको बैंकमा खाता खोल्न थालेको गाउँपालिकाले जनाएको छ । 

वडा नम्बर ८ को कुइनेमंगल घ्याँसीखर्कमा घुम्ती शिविर सञ्चालन गरेर करिब डेढ सय जनालाई गाउँमै सेवा दिएको छ । दुर्गम क्षेत्रका नागरिकलाई घरदैलोमै सरकार आएको अनुभूति दिलाउन तथा पालिकाको सेवामा सहज पहुँच बढाउन वडामै पुगेर सेवा दिने व्यवस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले टेकवीर कामी र उपाध्यक्ष कमला तिलिजाले कर्णबहादुर घिमिरेलाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरेर सेवाको सुरु गरेका थिए ।

वडाबाटै सेवा पाउँदा पालिकामा आउजाउ गर्दाको समय तथा र रकम खर्च हुने झन्झटबाट मुक्त भएको स्थानीय बताउँछन्  । 

यसअघि तत्कालीन महिला तथा बालबालिका कार्यालयले जारी गरेको परिचयपत्र खिचेर पालिकाको परिचयपत्र उपलब्ध गराइएको हो । चालू आर्थिक वर्षको पहिलो चौमासिकबाट बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न सम्झौता गरेको प्रभु बैंकको रघुगंगा शाखाका कर्मचारीहरुले पनि सँगै गएर लाभग्राहीको खाता खोलेका थिए । 

कोरोनाको जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सेवा दिइएको गाँउपालिकाले जनाएको छ । घुम्ती शिविरको क्रममा चालू आर्थिक वर्षमा बजेट विनियोजन भएका योजना कार्यान्वयनका लागि गठन भएका उपभोक्ता समितिसँग सम्झौतासमेत गरिने प्रशासकीय अधिकृत सुवेदीले बताए । 

पहिलो चरणमा कुइनेमंगलेसँगै चिमखोलामा पनि घुम्ती शिविर सञ्चालन गर्ने जनाएको छ । पालिकाको केन्द्र रहेको वडा– ३ बाहेक अन्य वडामै पुगेर सेवा दिने अध्यक्ष भण्डारीको भनाइ छ ।