close

खोटेहाङका हरेक गाउँमा बने बृद्ध चौतारी

खोटेहाङका हरेक गाउँमा बने बृद्ध चौतारी

Trulli
ADVERTISEMENT

खोटाङ– बृद्धबृद्धालाई लक्षित गरेर खोटाङको खोटेहाङ गाउँपालिकाले हरेक वडामा वृद्धवृद्धा भेटघाट चौतारी बनाएको छ । 

९ वडा रहेको गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा विनियोजन गरिएको ९ लाख बजेटबाट सवै वडामा वृद्धवृद्धा भेटघाट चौतारी बनाएको हो । 

वृद्धवृद्धा भेला हुने, आराम गर्ने, गफगाफ गर्ने लगायतका प्रयोजनका लागि हरेक वडामा वृद्धवृद्धा भेटघाट चौतारी निर्माण गरिएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।
 
गाउँपालिकाको सहयोगमा वडा–वडामा ढलान गरेर फलामका पिलर हालेर जस्ताको छाना हालेको, चारैतिर बस्न र आराम गर्न मिल्ने संरचना बनाइएको छ । 

भेटघाट चौतारीमा अन्य स्थानीयले समेत विश्राम र आराम गर्न सक्ने छन् । वृद्धवृद्धा भेटघाट चौतारी निर्माणका लागि गाउँपालिकाले हरेक वडालाई एक÷एक लाख रकम उपलव्ध गराएको थियो । 
कतिपय वडाले गाउँपालिकाले दिएको बजेटमा केही रकम थप गरेर वृद्धवृद्धा भेटघाट चौतारी निर्माण गरेको गाउँपालिका अध्यक्ष राईले बताए । बृद्धबृद्धाको सम्मान एबं उनीहरुको सहजताका लागि गाउँपालिकाले वडा–वडामा भेटघाट गर्ने चौतारी निर्माण गरेको जनाएको छ । 

गाउँपालिकाले हरेक वृद्धवृद्धालाई ज्येष्ठ नागरिक परिचयपत्र पनि वितरण गर्दै आएको छ । हरेक वडामा वर्षको एक दिन ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गर्ने गरिएको र सोही अवसरमा स्वास्थ्य परिक्षण समेत गर्ने गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।