close

भुकम्पपीडितका गुनासाे सुन्न गाउँपालिकामै बन्याे संयन्त्र

भुकम्पपीडितका गुनासाे सुन्न गाउँपालिकामै बन्याे संयन्त्र

Trulli
ADVERTISEMENT

ओखलढुंगा - जिल्लाको चिशंखुगढी गाउँपालिकाले भूकम्पपीडितका गुनासा पुनरावेदन दर्ताका लागि गाउँपालिकामै सहजीकरण गरेको छ । 


गाउँपालिकाले भूकम्पमा घर क्षति भएर अनुदान पाउने लाभग्राहीमा सूचीकृत नभएकाहरूलाई पुनर्निर्माण प्राधिकरणको जिल्लास्थित इकाइको समन्वयमा गुनासा सुनुवाइका लागि पुनरावेदन दर्ता सहजीकरण गरेको हो ।


गाउँपालिकामा पुनर्निर्माण प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रतिनिधिको उपस्थितिमा पुनरावेदन पत्र बुझेर दर्ताका लागि निस्सा प्रदान गरिन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले बताए ।


दर्जीका अनुसार पुनर्निर्माण प्राधिकरणले गैरलाभग्राही कायम गरेका ३ सय २५ भूकम्पपीडितले पुनरावेदन दिएका छन् । भूकम्पपीडितले त्यसरी दिएका पुनरावेदन जिल्ला आयोजना कार्यान्वयन इकाइ हुँदै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनरावेदन समितिमा पेस हुनेछ । 


पेस भएका पुनरावदेनमा तीन सदस्यीय समितिले पीडितसँग प्रत्यक्ष संवाद तथा कागजातका आधारमा लाभग्राही हुने-नहुने फैसला गर्ने इकाइ प्रमुख रीता लम्सालले जानकारी दिइन् । उनले भनिन्, ‘अन्य तहमा पनि आवेदन लिएर काम हुँदै छ । एकैसाथ सबैका आवेदन पेस  गर्छौं ।’


०७२ को भूकम्पमा घर क्षति बेहोरेका पीडितहरूको घर सर्भेक्षणमा छुटेका वा सर्भेक्षण भएर पनि लाभग्राही कायम नभएका पीडितलाई असोजभर पुनरावेदन गर्न पाउने गरी पुनर्निर्माण प्राधिकरणले मौका दिएको छ ।


पुनरावेदन सुनुवाइमा लाभग्राही कायम भए उनीहरूले मापदण्डमा तोकिएअनुसारको घर निर्माणका लागि ३ लाख अनुदान पाउनेछन् ।