close

आफै ‘बिरामी’ छन् ओखलढुंगाका गाउँपालिका

भीरमा अफिस, अधिकांशमा छैन न्युनतम पूर्वाधार

आफै ‘बिरामी’ छन् ओखलढुंगाका गाउँपालिका

भीरमा अफिस, अधिकांशमा छैन न्युनतम पूर्वाधार

Trulli
ADVERTISEMENT

ओखलढुंगा - सदरमुकाम ओखलढुंगासँगै जोडिएको मोलुङ गाउँपालिकाको केन्द्र प्राप्चामा पूर्वाधार अभाव देखिँदै आएको छ । प्राप्चामा काम लिएर आउने सेवाग्राहीलाई खानेपानी पाउँदैनन् भने वरपर व्यवस्थित होटलसमेत छैनन् । 


गाउँपालिकाले कर्मचारी अभाव पनि भोग्दै आएको छ । यो गाउँपालिका सदरमुकामबाट १७ किलोमिटर टाढा रहे  पनि सबैभन्दा नजिकको पालिका हो । 


पहिले महिला समूहको सानो भवनमा चलेको कार्यालयमा अहिले केही अस्थायी संरचना बने पनि प्रशासकीय भवन निर्माणको सुरसार छैन । गाउँपालिकाको केन्द्र स्थापनापछि मात्र केही पूर्वाधारका काम सुरु भएका छन्, तर पर्याप्त छैन । 


चिसंखुगढी गाउँपालिकामा टेलिफोन पनि चल्दैन । गाउँपालिकाले विद्युत विस्तारको काम गरिरहेको छ । बैंक केन्द्रमा अझै पुगेको छैन । कृषि सेवा केन्द्रको भवन मर्मत गरेर कार्यालय चलाइएको छ । टेलिफोन र इन्टरनेट नचल्ने भएपछि गत वर्ष मात्र बैंकको शाखा स्थापना भएको हो ।


फोन अझै चल्दैन । कतिपय गाउँपालिकाको कारोबार सदरमुकाम आएर गर्नुपर्ने बाध्यता छ । वर्षात्मा सदरमुकामबाट गाउँपालिका पुग्ने बाटो खोला र पहिरोले अवरुद्ध हुन्छ । मानेभन्ज्याङ गाउँपालिका सिद्धिचरण राजमार्गमा पर्छ । यातायातको दृष्टिले सुगम भए पनि टेलिफोन समस्या छ । गाउँपालिकाकै नजिक टेलिफोन टावर छ तर काम गर्दैन । 


गाउँपालिका केन्द्रमा ल्याइएका खानेपानीका २ मुहान सुकिसके । एउटाले जेनतेन धानेको छ । राजमार्ग छेउ भएकाले जनघनत्व अधिक छ । खिजीदेम्वा गाउँपालिकामा वर्षात्मा उदयपुर, सिन्धुली र रामेछाप घुमेर जाँदा दुई दिन लाग्छ । हिमाली क्षेत्रको धुले सडक वर्षात्मा पूर्ण रुपमा बन्द हुन्छ । गाउँपालिका केन्द्रमा विद्युत् छैन, टेलिफोन राम्रो चल्दैन । 


चम्पादेवी गाउँपालिका बस्तीबाट ३– ४ घन्टाको दूरीमा भीरका बीचमा राखिएको छ । केन्द्र विवादले पुनःसंरचना आयोगले तोकेको ताप्केडाँडामा बल्ल खानेपानी र अस्थायी ट्रस्टको संरचना बनाएर सञ्चालन गरिएको छ । सेवाग्राही पुग्न भीरको बाटो घन्टौं हिँडेर जानुपर्छ । 


यी केही प्रतिनिधि उदाहरण मात्रै हुन् । यहाँका ८ मध्ये अधिकांश स्थानीय तहका केन्द्रमा पूर्वाधार अभाव छ । बजारमूल्यभन्दा बढीमा उपभोग्य वस्तु कारोबार हुन्छ । अनुगमन भएको छैन ।


स्थानीय सरकारका व्यवस्थित नहुँदा नागरिकले सेवा सहज रुपमा नपाएको चम्पादेवी गाउँपालिका– ६ का कमल खड्काले बताए । उनले भने, ‘सरकार भएको अनुभूति नागरिकले गर्न पाएनन्, संरचनागत, कर्मचारी व्यवस्थापन र सेवा प्रवाह सबै परम्परागत छन् ।’


गाउँपालिका व्यवस्थित बनाउन थालिए पनि प्रभावकारी बनेको छैन । लिखु गाउँपालिकाले सबै संरचना निर्माण गरे पनि अन्य गाउँपालिका भने केही साँघुरो साविकका गाविस कार्यालय मर्मत गरेरै पालिका सञ्चालन भएका छन् । केन्द्रमा पूर्वाधार कम तर जनसंख्याको चाप ह्वात्तै बढेपछि व्यवस्थापनमा चुनौती थपिएको छ । 


खिजीदेम्वा र सुनकोसीमा अझै बिजुली पुगेको छैन । इन्टरनेट हतपत चल्दैन । कार्यालयका काम गर्न निकै कठिन हुने गरेको खिजीदेम्वाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले बताए । ती दुवै गाउँपालिकामा विद्युत् विस्तार थालिए पनि अलपत्र छन् । 


घरपरिवारमा कुरा गर्न पनि कार्यालयमा फोनै नटिप्ने चिसंखुगढीका प्रमुख प्रशासकीय ओमबहादुर दर्जी बताउँछन् । ‘होटल पनि साधारण खाजा–खाना खुवाउने मात्रै छन् । गाउँपालिका कृषि सेवा केन्द्रबाट चलेकाले आवास व्यवस्थापन गर्न गाह्रो छ,’ उनले भने ।


चिसंखुगढीमा मात्र होइन, मानेभन्ज्यांग गाउँपालिकामा कोठा भाडामा पनि पाइँदैन । ‘कोठा भाडामा बस्न खोज्दा पाउनै कठिन छ । महँगी उस्तै छ,’ मानेभन्ज्याङका दीपक राईले भने । गाउँपालिकामा सेवाग्राही आउँदा प्रतीक्षालय नहुँदा बाटोबाटै भीड लाग्ने गरेको उनी बताउँछन् । 


सिद्धिचरण नगरपालिकाले समेत जग्गा विवादका कारण अहिलेसम्म आफ्नै संरचना निर्माण थाल्न सकेको छैन । अघिल्ला वर्षमा कहाँ नगरपालिकाको केन्द्र रहने भन्ने विवादकै कारण भवन निर्माणका लागि आएको १ करोड रकम फिर्ता गएको थियो । 


भवन निर्माण तयारी गरिएको सिद्धिचरणका नगरप्रमुख मोहन श्रेष्ठले जानकारी दिए । सरकारले नगरपालिकाको केन्द्र तोकेको ठाउँमै भवन बन्ने उनले बताए । 


कतै जग्गा विवाद, कतै स्थानीयका स्वार्थका कारण स्थानीय सरकार भौतिक पूर्वाधार निर्माणमा मात्रै होइन, सेवा प्रवाहमा पनि चिप्लिएका छन् । स्वार्थ नमिल्दा योजनै नदिनेजस्ता काम भएको भन्दै विरोधका स्वर चुलिन थालेका छन् । 


‘संरचना र जनशक्ति अभावले स्थानीय सरकार सरकारजस्ता छैनन्,’ गाउँपालिका र नगरपालिकाको अवस्था टिप्पणी गर्दै ओखलढुंगा क्याम्पसका उपप्राध्यापक डा. भेषनाथ खनालले भने ।