close

कृषकमुखी बन्दै सरावल र रामग्राम, अनुदानको वर्षा

कृषकमुखी बन्दै सरावल र रामग्राम, अनुदानको वर्षा

Trulli
ADVERTISEMENT

नवलपरासी- पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले कृषि उत्पादनको क्षेत्रमा अनुदान नै अनुदानका कार्यक्रम संचालन गरेको छ ।


पालिकाले बाढी तथा डुबान प्रभावित कृषकहरूलाई ७५ प्रतिशत अनुदानमा उन्नत गहुँको बिउ उपलब्ध गराउने गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताए ।


यसअघि ५० प्रतिशत अनुदान दिने सूचना प्रकाशन गरेको पालिकाको कार्यपालिका तथा तथा विपद् व्यवस्थापन समितिको बैठकले अविरल वर्षाका कारण बाढी तथा डुबानबाट प्रभावित वडा नम्बर ५, ६ र ७  को हजारौँ बिघामा लगाइएको धान नष्ट भएपछि २५ प्रतिशत अनुदान थप गरी ७५ प्रतिशत बनाएको हो । ‘राहत स्वरूप अनुदान थप भएको हो’, पालिका अध्यक्ष चौधरीले भने ।


अनुदानमा गहुँको बिउ लिन चाहने कृषकले एक हप्ताभित्र निवेदनसहित नागरिकता र लालपुर्जाको फोटोकपीका साथ गाउँपालिकामा सम्पर्क गर्न प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले अनुरोध गरेका छन् ।


व्यावसायिक कृषि खेतीतर्फ कृषकहरूलाई आकर्षित गर्न सरावल गाउँपालिकाले किसानहरूलाई विभिन्न सरसामग्री उपलब्ध गराउँदै आएको जनाएको छ । कृषिमा आधुनिकीरण गर्दै किसानहरूको जीवनस्तर माथि उकास्न गाउँपालिकाले अनुदानमा विभिन्न कृषि यन्त्र र मलखाद, बिउबीजनहरू उपलब्ध गराउँदै आएको छ ।


ग्रामीण क्षेत्र रहेको यो पालिका पूर्व–पश्चिम लोकमार्गदेखि भारतसँग जोडिएको जिल्लाको एक मात्र पालिका हो । यहाँको मुख्य पेसा कृषि रहेको छ । किसानहरूलाई पम्परागत खेतीभन्दा व्यावसायिक खेती गर्न उत्प्रेरणा जगाउन पालिकाले अनुदानका कार्यक्रम संचालन गर्दै आएको चौधरीको भनाइ छ ।


यहाँका किसानहरूले धान, गहुँ, मकै, तोरी, तरकारी खेतीका साथै माछा, कुखुरा, गाइभैँसी, बाख्रा पालेर जीविकोपार्जन गर्दै आएका छन् । कृषि यान्त्रिकीकरणको क्षेत्रमा पनि पालिकाले उत्तिकै सहयोग गर्दै आएको स्थानीय उमेश विक बताउँछन् । बोरिङ, पम्पिङसेट, हाते ट्र्याक्टरमा पनि पालिकाले अनुदान दिँदै आएको विकले बताए ।


कृषकहरुलाई लक्षित गरी ५० देखि ७५ प्रतिशत अनुदानका कार्यक्रम संचालन गरेको पािलकाले व्यावसायिक तरकारी खेती गर्ने कृषकहरूलाई ७० प्रतिशत अनुदानमा तरकारीको बिउ वितरण गरेको जनाएको छ । तरकारी उत्पादनमा आत्मनिर्भर बनाउन ७० प्रतिशत अनुदानमा तरकारीको बिउ दिइएको कृषि विकास शाखा प्रमुख कुलदीपनारायण मिश्रले बताए ।

 

यस्ता छन् रामग्राम नगरका कृषि अनुदान कार्यक्रम

 

नवलपरासी पश्चिम नवलपरासी रामग्राम नगरपालिकाले अधिकांश कृषि उपजका बिउबीजनमा ५० प्रतिशत अनुदान प्रदान गरेको छ । उन्नत गहुँको बिउमा ५० प्रतिशत अनुदान दिन सूचना प्रकाशन गरी वितरणको अन्तिम तयारीमा रहेको रामग्राम कृषि विकास शाखाले जनाएको छ ।


नगरलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउँदै राष्ट्रिय उत्पादन वृद्धिमा योगदान गर्न अनुदानका कार्यक्रम संचालन गरिएको नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले बताए । ‘कृषि उपजका बिउबीजनमा २५ देखि ५० प्रतिशत अनुदान र कृषि यन्त्रमा ५० प्रतिशत अनुदानको व्यवस्था छ’, नगरप्रमुख गुप्ताले भने ।

 

कृषि विकास शाखाका सनतकुमार गिरीका अनुसार हिउँदे तरकारीमा ५० प्रतिशत, पुष्प व्यवसायमा ५० प्रतिशत च्याउको बिउमा ५० प्रतिशत अनुदानको कार्यक्रम छ । कार्यक्रमअनुसार काउली, बन्दा, टमाटर, सिमी, केराउलगायत  हिउँदे तरकारीको बिउ वितरण भइरहेको उनले बताए ।


त्यस्तै, प्रांगारिक मललाई प्रबर्धन गर्न ढैँचा रोप्ने कृषकहरूका लागि २५ प्रतिशत अनुदानको व्यवस्था गरिएको गिरीले जानकारी दिए ।


रामग्राम जिल्ला सदरमुकाम परासी रहेको पालिका हो । यहाँ ऐतिहासिक बुद्धकालीन रामग्राम स्तुप र पण्डितपुर रहेका छन् । कृषि उत्पादनका दृष्टिले समेत यो पालिका महत्त्वपूर्ण मानिन्छ ।