close

खरका छानोमुक्त बन्दै छ रामग्राम नगर

खरका छानोमुक्त बन्दै छ रामग्राम नगर

Trulli
ADVERTISEMENT

नवलपरासी पश्चिम– पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत नगरलाई छानोमुक्त बनाइने भएको  छ । सहरी विकास मन्त्रालयले देशभरकै स्थानीय तहमा बसोबास गर्दै आएका गरिब तथा विपन्न घरपरिवारको असुरक्षित घरलाई व्यवस्थित बनाउन उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

 

कार्यक्रममा स्थानीय तहहरूले आप्mनो नगर÷गाउँपालिकाभित्र रहेको खर, फुस, पराल, टाटी र खपडालगायतका छानो भएका घरमा जस्तापाता लगाएर  सुरक्षित बनाइने भएको छ । कार्यक्रमलाई रामग्रामले आफ्नो नगरमा कार्यान्वयन गराउन १८ वटै वडामा लाभग्राही विवरण संकलन सुरु गरेको हो ।

 

नगरपालिकाभित्र असुरक्षित रुपमा बसोबास गर्दै आएका गरिब तथा विपन्न वर्गलाई सुरक्षित बासको सुविधा मिलोस् भन्ने अभिप्रायले व्यवस्थित घर बनाउन लागिएको नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिए ।

‘कार्यक्रममा अनुदानमार्फत करिब ५० हजार रुपैयाँ अनुदान दिइनेछ ।  यसबाट लाभग्राहीले जस्तापाता, काठ, पाइप र अन्य निर्माण सामग्री खरिद गर्न सक्नेछन्’, नगरप्रमुख गुप्ताले भने । गुप्ताका अनुसार नगरपालिकाभित्रका छाना, पराल, खर, स्याउला, टाटीका घरधुरीलाई उक्त अनुदान दिइनेछ ।

 

सुरक्षित नागरिक आवासमा लाभग्राही छनोटका लागि मापदण्ड पनि बनाइएको उनले बताए । यसमा वृद्ध, एकल महिला, अनाथ बालबालिका तथा अपांगता भएका घरमूलीलाई प्राथमिकता दिइने नगरप्रमुख गुप्ता बताउँछन् ।


लाभग्राही छनोटमा गरिबीको रेखामुनि पर्ने र छाना, पराल, खर, स्याउला, टाटीको असुरक्षित घरमूली हुनुपर्ने मापदण्ड तोकिएको छ । ढलान र जस्तापाताको छानो भएको घरपरिवारले यो अनुदान पाउने छैन ।

 

सुरक्षित आवासका लागि जस्तापाता छानो वा पक्की घर बनाउने लाभग्राहीले सर–सामान आफै खरिद गर्ने, मिस्त्री र मजदुरको ज्यालासमेत आफैं बेहोर्नुपर्ने मापदण्ड छ । सहरी विकास मन्त्रालयको अनुदानअन्तर्गतको सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत नगरपालिकालाई उक्त अनुदान रकम हस्तान्तरण हुनेछ । लाभग्राहीले घर बनाउँदा पहिलो किस्ता ६० प्रतिशत र दोस्रो किस्ता ४० प्रतिशत प्राप्त गर्ने नगरपालिकाका इन्जिनियर सतिश गुप्ताले जानकारी दिए ।

 

‘स्थानीय तहको सिफारिसको आधारमा सुरक्षित नागरिक आवास समन्वय समितिले लाभग्राही छनोट गरेपछि अनुदान पाउन सक्छन्’, इन्जिनियर गुप्ताले भने ।रामग्रामले नगरलाई छानोमुक्त नगर बनाउने अभियान पनि सञ्चालन गरेको छ । नगरपालिकाभित्र रहेका छानाका घरमा जस्तापाता लगाएर छानोमुक्त नगर बनाउने कार्यमा तीव्रता दिइएको छ ।


नगरलाई खरको छानोमुक्त बनाउन ५० लाख रुपैयाँ विनियोजनसमेत गरिएको छ ।  नगरपालिकाले नगरका १८ वटै वडामा यस्तो घरधुरीको संख्या विवरण संकलन गरिरहेको जनाएको छ ।