close

तन्नेरीलाई उद्यमशीलता सिकाउँदै चाँगुनारायण 

तन्नेरीलाई उद्यमशीलता सिकाउँदै चाँगुनारायण 

Trulli
ADVERTISEMENT

भक्तपुर- तपाईंलाई कुनै परीक्षा दिन कति समय तयारी गर्नुपर्छ ? पक्कै पनि राम्रो अंकसहित उत्तीर्ण गर्न सामान्य १ महिनादेखि वर्षैभरि तयारी गर्नुहुन्छ ।

 

तर, कोही आएर तपाईंलाई छलफलबाटै परीक्षा लियो भने वा १ घन्टा गफ सुनाएर परीक्षा हलमा पठायो भने कस्तो अनुभव हुन्छ ? अनि त्यो परीक्षाको नतिजा कस्तो आउला ?

 

यस्तै, अनुभव चाँगुनारायण नगरपालिकाको मेयर उद्यमशीलता कार्यक्रमअन्तर्गत अभिमुखीकरण कार्यक्रममा सहभागीको पनि थियो, जहाँ नगरभित्रका करिब १ हजार जना २१ देखि ५० वर्षभित्रका युवाको सहभागिता थियो । यिनलाई कसरी उद्यमशील बन्ने भन्ने अभिमुखीकरणसमेत दिइएको थियो । 

 

कार्यक्रममा सहभागी एक युवाले परीक्षा हलबाट बाहिर निस्कँदै भने, ‘सुरुमा परीक्षा लिने भन्नेबित्तिकै मनमा एक किसिमको डर थियो । तर, प्रश्नमा आफ्नै चित्र आफैं कोर्नु पो रहेछ । मेरो टाउकोमा एउटै कपाल थिएन । मैले त तालु खुइले टाउको बनाएर आएँ ।’ 

 

करिब २ घन्टा उद्यमी बन्ने उपायबारे भाषण सुनाएर सहभागीलाई परीक्षा दिन लगाइएको थियो । परीक्षाको समयावधि आधा घन्टादेखि १ घन्टासम्म थियो । 

 

‘भाषणमा सरहरूले भन्नुभएको कुरा निकै मीठो लाग्यो । उहाँहरूको कुरा ध्यान दिएर सुनेकाले उद्यमी बन्ने तरिकासमेत थाहा पाएँ,’ वडा नम्बर ३ झौखेलकी लक्ष्मीकुमारी ठकुरीले भनिन्, ‘परीक्षा लिएर पासफेल गराउने जानकारी भयो । तर, जाँचमा आफ्नैबारे आफैं लेख्नुपर्ने रहेछ । मलाई १५ मिनेट पनि लागेन ।’

 

प्रश्नपत्रको ढाँचा देखेर सहभागी अधिकांशले अभिमुखीकरणका लागि नगरपालिकाले फितलो तयारी गरेको आरोप लगाए । 

 

प्रश्नपत्रकै विषयबारे नगरप्रमुख सोमप्रसाद मिश्रले भने, ‘प्रश्नपत्रमा सहभागीको चित्र कोर्न लगाउनुभन्दा पनि अरू प्रश्न सोध्नुपर्ने थियो । तर, हामीले त्यसो गरेनौँ ।’ 

 

कार्यक्रममा वरिष्ठ मनोवैज्ञानिकको सहभागिता थियो । उनको सल्लाहबमोजिम प्रश्नपत्रमा चित्र कोर्न लगाइएको उनले बताए । ‘यसले सहभागी व्यक्तिको मानसिकताबारे परीक्षण गर्छ,’ मिश्रले भने, ‘चित्रमार्फत सहभागीले व्यवसाय गर्न सक्छन् या सक्दैनन्, उद्यमी बन्न इच्छा छ-छैन भनी थाहा पाउन सकिन्छ ।’ 

 

नगरपालिकाका प्रशासकीय अधिकृत विजयकुमार शर्माले सहभागीको मनोविज्ञान बुझ्न प्रश्नपत्रमा उक्त प्रश्न समावेश गरेको दाबी गरे ।