close

महिलालाई स्वरोजगार बनाउँदै राइनास

महिलालाई स्वरोजगार बनाउँदै राइनास

Trulli
ADVERTISEMENT

लमजुङ– लमजुङको राइनास नगरपालिकाले महिलालाई स्वरोजगार बनाउन १ महिने झोला बुनाइ तालिम दिएको छ । नगरपालिकाको वडा नम्बर १० प्यारजुङका महिलालाई १ महिने तालिम दिइएको नगरपालिकाले जनाएको छ ।

 

महिलालाई उद्यमी बनाउने उद्देश्यले ९ फागुन ९ देखि सञ्चालन गरिएको तालिमको ९ चैतमा नगरपालिका उप–प्रमुख धनकुमारी गुरुङले समापन गरिन् । 

 

उपप्रमुख गुरुङले १ महिने झोला बुनाइ तालिमपछि महिलालाई स्वरोजगार हुन सहयोग पुग्ने बताइन् । ‘सीप सिकिसकेपछि परनिर्भर भएर होइन, आत्मनिर्भर बन्न सक्नुपर्छ । महिलालाई चुल्हो–चौकामा मात्र सीमित नराखी आयआर्जनतर्फ अगाडि बढाउन तालिमले सहयोग पुग्नेछ,’ उप–प्रमुख गुरुङले भनिन् । 
 
घरेलु तथा साना उद्योग कार्यालय लमजुङको सहयोगमा सञ्चालित तालिममा नगरका १२ जना महिला सहभागी थिए । नगरपालिकाले छनोट गरेर सिफारिसमा परेका १२ जना महिलालाई तालिम दिइएको घरेलु तथा साना उद्योग कार्यालय लमजुङका प्रमुख तोपलाल भुसालले बताए ।

 

तालिममा एकल, दलित र जनजाति महिलालाई प्राथमिकता दिइएको उनको भनाइ छ । तालिमपछि प्यारजुङमा उत्पादित झोला चिनोको रूपमा पर्यटकलाई दिन सकिने उनले बताए । ‘आर्थिक उपार्जन पनि हुने र पर्यटकलाई नगरको चिनो दिँदा उत्पादनले बजार पाउन सक्छन्’, भुसालले भने ।

 

कार्यालयले सहभागीलाई ६ वटा मेसिन पनि उपलब्ध गराएको छ । २० प्रतिशत सहभागीको र ८० प्रतिशत कार्यालयको अनुदानमा मेसिन उपलब्ध गराइएको हो ।